एकल महिला चिनिमैयाँ नेपालीलाई नयाँ पक्की घर हस्तान्तरण

हेटौँडा, थाहा नगरपालिका–४, शिखरकोट निवासी एकल महिला आमा चिनिमैयाँ नेपालीको जीर्ण तथा बस्न अयोग्य अवस्थामा रहेको घर पुनःनिर्माण गरी नयाँ पक्की घर हस्तान्तरण गरिएको छ। नेकपाकी केन्द्रीय सदस्य तथा बागमती प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तानले एक कार्यक्रमका बीच चिनिमैयाँ नेपालीलाई नव–निर्मित पक्की घरको साँचो हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा थाहा नगरप्रमुख विष्णु बिष्ट, वाईसीएल नेपाल थाहा नगर कमिटीका पदाधिकारीहरू, नेकपाका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। घर निर्माणका लागि वाईसीएल नेपाल, थाहा नगर कमिटीले श्रमदानसहित सम्पूर्ण आर्थिक खर्च बेहोरेको जनाएको छ। वाईसीएल थाहा नगर कमिटी अध्यक्ष केशव सुनारका अनुसार चिनिमैयाँ नेपाली विगतदेखि नै जीर्ण अवस्थामा रहेको पुरानो कटेज घरमा बस्दै आउनुभएको थियो। छानोबाट पानी चुहिने, बस्न अत्यन्तै कठिन र कष्टकर अवस्थाका कारण उहाँलाई ठूलो समस्या हुँदै आएको थियो। आर्थिक अवस्था कमजोर भएकाले स्वयम् घर पुनःनिर्माण गर्न नसक्ने अवस्थामा रहेकाले मानवीय भावनाबाट प्रेरित भई वाईसीएलले घर निर्माण गरिदिएको उहाँले बताउनुभयो।

“श्रम तथा उत्पादनमा वाईसीएल अभियान” अन्तर्गत घर पुनःनिर्माण कार्यको प्रारम्भिक चरण २०८२ साउन १० गते बिहान १० बजेदेखि श्रमदान कार्यक्रममार्फत सुरु गरिएको थियो। वाईसीएल थाहा नगर कमिटी अध्यक्ष सुनारले यस मानवीय कार्यलाई सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण पार्टी पंक्ति, वाईसीएल पदाधिकारी तथा कार्यकर्ताहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।

राजनीतिक दल र युवाहरूको सक्रिय सहभागितामा सम्पन्न यस कार्यले समाजमा सहकार्य, सहयोग र मानवीय भावनाको सशक्त सन्देश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *