काठमाडौं–तराई द्रुतमार्गमा टुचन मेसिन दुर्घटना : एकको मृत्यु, एक घाइते

हेटौँडा, मकवानपुरको भिमफेदी गाउँपालिका–८ महादेवटार छोक्रेडाडास्थित निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुतमार्गमा टुचन मेसिन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मंगलबार साँझ द्रुतमार्गअन्तर्गत १ नम्बर पुलको खाडल खन्ने काम सकेर खाल्डोबाट टुचन मेसिनमार्फत माथि आउँदै गर्दा अचानक ब्रेक फेल भई मेसिन करिब २१ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी नायब निरीक्षक राजन थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोली साँझ नै घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ।

दुर्घटनामा सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङपाल गाउँपालिका–५ का २९ वर्षीय अर्जुन थिङको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। थिङ सोही द्रुतमार्ग आयोजनामा कार्यरत कर्मचारी रहेका थिए।

त्यसैगरी, खाडलभित्रै रहेका पाँचपोखरी थाङपाल गाउँपालिका–६ का ३७ वर्षीय जुल्फे तामाङ माथिबाट खसेको टुचन मेसिनले ढाडमा लागेर घाइते भएका छन्। घाइते तामाङलाई उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *