हेटौंडा, केन्द्रीय दुग्ध सहकारी संघले कच्चा दूध तथा दुग्धजन्य वस्तुको आयात खुलाउन नहुने बताएको छ । आइतबार संघले प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रिय दुग्ध विकास बोर्डले दैनिक १ लाख २० हजार लिटर कच्चा दूध आयातका लागि तथ्यगत अध्यन र विश्लेषण नै नगरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सिफारिस गरेकामा गम्भीर आपत्ति जनाउँदै संघले हाल दूध आयात गर्नुपर्ने अवस्था नरहेको उल्लेख गरेको छ ।
हाल दूधबाट बनेको छुर्पीसमेत बाह्य मुलुकमा निर्यात भइरहेको अवस्थामा राष्ट्रिय दुग्ध विकास बोर्डको सिफारिसमा बाह्य मुलुकबाट दैनिक १ लाख २० हजार लिटर कच्चा दूध आयातका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सिफारिस भएकोमा संघको गम्भीर ध्यानाकर्षण भएको संघका अध्यक्ष अम्मरबहादुर कुँवर र महासचिव रामप्रसाद आचार्य द्वयले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ ।
वैदेशिक रोजगारमा गएका युवा पनि हाल दुग्ध उत्पादन पेशामा लागिरहेको अवस्थामा दुग्ध उत्पादन पेशालाई धारासाही नबनाइ यस पेशाप्रति आकर्षित गराएर देशलाई दूधमा आत्मनिर्भर बनाउन प्रचुर मात्रामा रहेको दूध विदेशमा समेत निर्यात गर्न सक्ने अवस्थामा रहेको संघले विज्ञप्तिमार्फत जनाएको छ । नेपालमा हाल दैनिक ३ लाख लिटर धुलो दूध बनाउन सक्ने क्षमताका उद्योगहरू रहेका छन् । उद्योगी र दुग्ध विकास संस्थानले किसानको दूधको भुक्तानी समयमै नगर्ने, दुरदराजको दूध नल्याउने, आनाकानी गर्ने अनि दूधको अभाव भयो भन्ने तथ्यहीन र भ्रामक समाचार छर्न उद्यत उद्योगीहरूलाई प्राथमिकता दिने राष्ट्रिय दुग्ध विकास बोर्डले किसानहरूको अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा विपरीत कार्य गरेको विज्ञप्तिमा उल्लेख छ ।
बाह्य मुलुकबाट कच्चा दूध तथा दुग्धजन्य ल्याइएको खण्डमा दुग्ध किसानहरू पलायन हुने निश्चित छ । अतः कच्चा दूध तथा दुग्धजन्य आयात खुलाउन दिन नहुने भन्दै संघको बैशाख ५ गते बसेको सञ्चालक समितिको बैठकबाट निर्णयसमेत भएको र संघले सोही मितिमा नै राष्ट्रिय दुग्ध विकास बोर्डलाई कच्चा दूध तथा दुग्धजन्य आयात रोक्न पत्रसमेत पेश गरेको संघले जनाएको
छ ।
‘विदेशबाट कच्चा दूध आयातका कारणबाट दूधमा आत्मनिर्भर हुनुको साटो यो पेशा नै धारासाही हुने अवस्थाका
कारण कृषकहरू पुनः आन्दोलित हुनुपर्ने अवस्थालाई मध्यनजर गर्दै कच्चा दूध आयात अविलम्ब रोक्न देशभर रहेका दुग्ध सहकारी संघ संस्थाहरूबाट नेपाल सरकारलाई अनुरोध गरिन्छ ।’ विज्ञप्तिमा भनिएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले
भारतबाट दैनिक १ लाख २० हजार लिटर दूध आयात गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सुझाव दिएको छ ।







