इन्दिरालाई मनमाया पुरस्कार र कुमार नेगीलाई गजल सम्मान

हेटौँडा, गजल मञ्च मकवानपुरको आयोजनामा २३३ औँ गजल यात्रा, मनमाया स्मृति गजल पुरस्कार–२०८२ र श्रीकृष्ण–तालुमाया नमुना स्मृति गजल सम्मान समर्पण कार्यक्रम शनिबार हेटौँडामा भएको छ। मञ्चका अध्यक्ष सञ्जीत श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष डा. निमेष निखिलको प्रमुख आतिथ्य रहेको थियो ।

हरेक वर्ष मकवानपुरका माध्यमिक तहका विद्यार्थीहरूबीच आयोजना गरिने गजल प्रतियोगितामार्फत प्रदान गरिने मनमाया स्मृति गजल पुरस्कार यस वर्ष श्री गोरक्षनाथ माध्यमिक विद्यालय, हेटौँडा–१८ की इन्दिरा विश्वकर्माले प्राप्त गरेकी छन्। प्रतियोगिताका लागि प्राप्त १८ गजलमध्ये उत्कृष्ट १० गजलका सर्जकलाई अन्तिम चरणको वाचनका लागि आमन्त्रण गरिएको थियो। अन्तिम चरणको प्रतिस्पर्धापछि विश्वकर्मा सर्वोत्कृष्ट घोषित हुँदै नगद ५ हजार ५ सय ५५ राशिसहित पुरस्कृत प्राप्त गरिन् । उक्त पुरस्कार मञ्चका पूर्व अध्यक्ष तथा सल्लाहकार दीपक गौतमले आफ्नी हजुरआमाको स्मृतिमा स्थापना गर्नुभएको हो। उत्कृष्ट १० जना गजलकारलाई प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा निर्णायकका रूपमा मञ्चका निवर्तमान अध्यक्ष तथा गजलकार केशव समर्पण र साहित्य सङ्गम मकवानपुरकी सहसचिव भवानी तिमल्सिना रहनुभएको थियो। यसैगरी, मञ्चका पूर्व कार्यसमिति सदस्य भोला शिवाकोटीले आफ्ना माता–पिता तथा छोरीको स्मृतिमा स्थापना गर्नुभएको श्रीकृष्ण–तालुमाया नमुना स्मृति गजल सम्मानबाट गजलकार कुमार नेगी ‘पालुङ्गे चरो’ लाई प्रदान गरेको छ । नेगीलाई नगद ५ हजार राशीसहित प्रमाणपत्रले सम्मान गरेको हो । मकवानपुरमा पहिलो गजल कृति प्रकाशन गर्ने सर्जकका रूपमा परिचित नेगीको ‘सिर्जनाका हातहरू’ गजल सङ्ग्रह वि.सं. २०५८ मा प्रकाशित भएको थियो। कार्यक्रमअन्तर्गत नियमित गजल यात्रामा मुस्कान तिमल्सिना, गौरी कडेंल, देवराज तिवारी र राम कार्की लगायतका सर्जकहरूले गजल वाचन गरेका थिए।

कार्यक्रममा वरिष्ठ साहित्यकार तुलसी घिमिरे, अग्रज साहित्यकार देवराज खरेल, राजकुमार लामिछाने, विष्णु गौतम, मञ्चका पूर्व अध्यक्ष तथा सल्लाहकारहरू, मकवानपुर विभिन्न साहित्यिक संस्थाका अध्यक्ष तथा प्रतिनिधि र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *