हेटौँडा, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मकवानपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रमा चार वटै सुरक्षा निकायको संयुक्त टोली परिचालन गरिएको छ। जिल्लाभरका मतदान स्थल वरपर तथा दशैँ स्थानीय तहमा सुरक्षा निकायको उपस्थिति सुनिश्चित गरिएको हो।
निर्वाचन सुरक्षालाई विशेष प्राथमिकता दिँदै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र निर्वाचन प्रहरी ९म्यादी०लाई जिल्लाका विभिन्न स्थानमा खटाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए। उनका अनुसार मतदान केन्द्र आसपास सुरक्षा निगरानी बढाइएको छ र सबै पालिकामा सुरक्षाकर्मी पुगिसकेका छन्।
प्रत्येक मतदान केन्द्रमा निर्वाचन कर्मचारीलाई आवश्यक तालिम प्रदान गरेपछि मतपेटिका सहित सुरक्षाकर्मी परिचालन गरिने तयारी गरिएको छ। निर्वाचन स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउन निर्वाचन प्रहरीलाई समेत जिम्मेवारी क्षेत्रमा खटाइएको छ। चारै सुरक्षा निकाय संयुक्त रूपमा परिचालन भइसकेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार मतदान केन्द्रको सुरक्षा अवस्था, पूर्वतयारी, गस्ती, पेट्रोलिङ तथा पिकेट जाँच कार्य सुरु भइसकेको छ। हाल सुरक्षा निकायका सबै टोली कैलाश गाउँपालिकामा समेत पुगेका छन्। त्यहाँका प्रत्येक मतदान स्थल संवेदनशील रहेकाले निर्वाचन अधिकृतसहितको टोलीले स्थलगत अनुगमन गरिरहेको उनले बताए।
निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारको सुरक्षा, राजनीतिक गतिविधि तथा मतदान केन्द्रको पूर्वाधार सुरक्षामा विशेष ध्यान दिइएको छ। आवश्यक सवारीसाधन, हतियार तथा अन्य बन्दोबस्तीका सामग्रीसहित सुरक्षा तयारी पूरा गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यसैबीच, वडा तहसम्म समन्वय सुदृढ गर्न एकीकृत संयन्त्र गठन गरिएको छ। राजनीतिक दल, नागरिक समाज, सञ्चार क्षेत्र, निजी क्षेत्र तथा स्थानीय अगुवालाई समेट्दै वडा तहसम्म सहकार्य संरचना बनाइएको छ। जिल्ला सुरक्षा समितिले उक्त संयन्त्रसँग समन्वय गर्दै निर्वाचनप्रति जिम्मेवारी र अपनत्व अभिवृद्धि गर्ने जनाएको छ।
जिल्ला सुरक्षा समितिमार्फत शान्ति–सुरक्षा कायम गर्ने, जनशक्ति परिचालन गर्ने, निर्वाचनसम्बन्धी कानुन कार्यान्वयन गर्ने तथा आचारसंहिताको पालना गराउने कार्यलाई प्राथमिकतामा राखिएको छ।






