हेटौँडा,, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नेपालका लागि सबैभन्दा उपयुक्त व्यवस्थाका रूपमा वर्णन गरेका छन्। बागमती प्रदेश सरकारद्वारा आइतबार आयोजित ‘संघीय लोकतान्त्रिक गणतन्त्र: चुनौती र अवसर’ विषयक अन्तरसंवाद कार्यक्रममा उनले गणतन्त्रले गरिब परिवारको छोरो पनि राष्ट्र प्रमुख बन्न सक्ने व्यवस्था दिएको उल्लेख गरे।
मुख्यमन्त्री बानियाँले व्यक्तिको स्वतन्त्रताको सुनिश्चितता गणतन्त्रको सबैभन्दा ठूलो उपलब्धि भएको बताए। “व्यक्ति बदल्न पाउने, दल बदल्न पाउने, मन लागेको पार्टी वा उम्मेदवारलाई भोट हाल्न पाउने—यत्ति सुन्दर व्यवस्था संसारमा अरू छैन,” उनले भने। उनका अनुसार नेपालको वर्तमान संविधान समावेशी, समानुपातिक र सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने दस्तावेज हो। “सबै वर्ग, भाषा–संस्कृति र समुदायलाई समेट्ने संविधान भएकै कारण यो व्यवस्था अधिक न्यायपूर्ण छ,” उनले जोड दिए। यद्यपि संविधानका केही व्यवस्थाका कारण राजनीतिक अस्थिरता कायम रहेको उनले स्वीकार गरे। बढ्दो भ्रष्टाचार र राज्य संयन्त्रप्रतिको अविश्वासका कारण भदौ २२ र २३ गते देखिएको ‘जेन–जी विद्रोह’ जस्तो अकल्पनीय परिस्थिति उत्पन्न हुन दोष सबै दल र नेतृत्वमा आफूले देखेको उनले बताए।
“जेनजी पुस्तालाई सामाजिक सञ्जालदेखि लिएर बढ्दो भ्रष्टाचारसम्मले पिरोल्यो। अपेक्षित राष्ट्रनिर्माण हुन नसक्दा निराशा बढ्दै गयो,” बानियाँले भने। लामो समयसम्म उस्तै अनुहार र नेतृत्वले देश चलाउँदा परिवर्तन नहुनु नै असन्तुष्टिको मूल कारण भएको उनको तर्क थियो। उनका अनुसार नयाँ पुस्ताले आफ्नो आवाज द्रुत गतिमा राखेपछि बनेको जनदबाब र परिस्थितिको परिणामस्वरूप अहिले नयाँ सरकार गठन भएको हो।







