रास्वपाको सरकार बनेपछि सबै काण्डहरुको छानबिन गर्ने : रवि लामिछाने

हेटौँडा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले रास्वपाको सरकार बनेपछि २०४६ सालपछिका सबै काण्डहरुको छानबिन गर्ने बताएका छन्। सोमबार हेटौँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले फागुन २१ पछि बन्ने रास्वपाको सरकारले विगतका सबै प्रकरणहरू निष्पक्ष रूपमा अनुसन्धान गर्ने बताएका हुन्।

ADVERTISEMENT

उनले देशभरबाट रास्वपाका उम्मेदवारहरूलाई विजयी गराउन आह्वान गर्दै निर्वाचनमा सही निर्णय गर्न मतदातासँग आग्रह गरे। “देशमा भएका ठूला भ्रष्टाचारका फाइल खोल्न रास्वपाको सरकार बन्नुपर्छ,” उनले भने, “फागुन २१ गतेको निर्णयले नै देशको भविष्य निर्धारण गर्नेछ। रास्वपा सरकारले निष्पक्ष रूपमा छानबिन गर्छ।”

जेन–जी आन्दोलनका क्रममा शेरबहादुर देउवा निवासमा जलेको भनिएको पैसाबारे बोल्दै लामिछानेले उक्त घटनालाई ‘अकाट्य प्रमाण’ भएको दाबी गरे। उनले सो पैसाको स्रोत पत्ता लगाउन अनुसन्धान आवश्यक रहेको उल्लेख गर्दै भने, “रास्वपाले प्रतिशोध लिँदैन, तर कानुनी राज्य स्थापना गर्छ। त्यो पैसाको स्रोत के हो भन्ने खोज्न अनुसन्धान जरुरी छ।”

लामिछानेले २०४६ सालपछिका सबै काण्डहरूको निष्पक्ष छानबिन गरिने दाबी गर्दै विदेशमा लुकाइएको सम्पत्तिसमेत खोजी गरिने बताए। निर्वाचन मिति सार्ने चर्चा चलिरहेको सन्दर्भमा उनले कुनै पनि बहानामा चुनाव नरोकिने स्पष्ट पारे।

“लोकतन्त्रमा सबैभन्दा महत्वपूर्ण कुरा जनताको मत हो। जनता मतदान गर्न तयार छन्। कुनै पनि दलले बहाना खोज्नु हुँदैन,” उनले भने, “रास्वपाले जस्तोसुकै मत परिणाम आए पनि स्वीकार गर्छ—एक नम्बर भए पनि, शून्य भए पनि।”

Advertisement 5

कार्यक्रममा पार्टीका सहप्रवक्ता रमेश प्रसाईंले आगामी निर्वाचनपछि केपी शर्मा ओली को धरौटीसमेत जफत हुने दाबी गरे। उनले राष्ट्रिय स्वतन्त्र पार्टी कुशासनविरुद्ध दृढ रूपमा उभिएको बताए।

सभामा मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार प्रकाश गौतम र क्षेत्र नम्बर–२ का उम्मेदवार प्रशान्त उप्रेतीले आफूहरूलाई निर्वाचित गरे स्थानीय समस्याहरू समाधान गर्न प्रतिबद्ध रहेको बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *