हेटौंडा, हेटौँडामा भएका दुई वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना स्कुटर चालक र अर्का एक जना निर्वाचन (म्यादी) प्रहरी रहेका छन् ।
सोमबार दिउँसो हेटौँडा–१०, भुटनदेवी मोडस्थित बाइपास सडक खण्डमा ’हात्ती गाडी’ (सानो प्रकृतिको मालबहाक गाडी) को ठक्करबाट एक जना स्कुटर चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–५, शान्तिनगर बस्ने १८ वर्षीय क्षितिज रायमाझी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दिउँसो ३ः४० बजे बसपार्कतर्फबाट पशुपतिनगरतर्फ जाँदै गरेको बा.प्र.०३–००६ प २७१२ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ६०५३ नम्बरको हात्ती गाडीले ठक्कर दिएको थियो ।
ठक्कर दिएर गाडीसहित चालक फरार भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका रायमाझीको हेटौँडा अस्पतालमा उपचारको क्रममा अपराह्न ४ः१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
दुर्घटनामा स्कुटरमा सवार हेटौँडा–७ का १९ वर्षीय संगम झा घाइते भएका छन् । उनको हेटौँडास्थित सञ्चो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ठक्कर दिने गाडी र चालक बारा अमलेखगञ्जका २० वर्षीय शेरचन बलाईलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी, हेटौँडा–८ कर्रा पुल नजिकै योद्धा पिकअप गाडीको ठक्करबाट घाइते भएका एक म्यादी प्रहरीको पनि उपचारको क्रममा सोमबार मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको फतुवा विजयपुर नगरपालिका–७ का २४ वर्षीय पवन साह रहेका छन् । उनी इलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरमा निर्वाचन सुरक्षाका लागि खटिएका प्रहरी (म्यादी) थिए ।
गएको बिहीबार बिहान २ः४५ बजे पूर्व–पश्चिम राजमार्गमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३–००१ च १५६५ नम्बरको योद्धा पिकअपले साहलाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते साहको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेकोमा सोमबार उनको निधन भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा संलग्न पिकअप गाडी र चालक रौतहट चन्द्रपुरका २५ वर्षीय अर्जुन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






