हेटौंडा, वार्षिक साधारणसभा नगर्ने सहकारी संस्थालाई बचत संकलन र ऋण प्रवाहमा रोक लगाइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, बागमती प्रदेश सरकारले सहकारी संघ/संस्थाहरुलाई नयाँ निर्देशन जारी गरेको हो ।बुधबार मन्त्रालयले ३ बुँदे निर्देशन जारी गरेको छ । निर्देशन अनुसार नियमित रुपमा वार्षिक नगर्ने सहकारीलाई बचत संकलन र ऋण प्रवाहमा रोक लगाएको छ ।
त्यस्तै सार्वजनिक बिदा बाहेक अन्य दिनमा कार्यालय बन्द नगर्न पनि निर्देशन जारी गरेको छ । केही सहकारी संस्थाहरुले आफूखुसी कार्यालय बन्द गरेको गुनासो आएपछि मन्त्रालयले सार्वजनिक बिदा बाहेक अन्य दिनमा कार्यालय बन्द नगर्न निर्देशन जारी गरेको हो । त्यस्तै मुख्य कारोबार गर्ने सहकारी संघ/संस्थाहरुले बाहेक अन्य सहकारीले बचत तथा ऋणको मुख्य कारोबार गरेको पाइएको भन्दै प्रचलित सहकारी ऐन, नियममा भएको व्यवस्था बमोजिम आफ्नो कारोबारको अनुपात मिलाउन निर्देशन दिएको छ ।
‘बुधबार मन्त्रालयको सचिवस्तरीय बैठकले ३ बुँदे निर्देशन जारी गरेका हौँ ।’ मन्त्रालयका उपसचिव नारायणप्रसाद ज्ञवालीले भने –‘सहकारी संस्थाले पुस मसान्तसम्म साधारणसभा सम्पन्न गरिसक्नु पर्ने प्रावधान रहेको छ । साधारणसभा सम्पन्न गरेको रिपोर्ट माघ १५ गतेसम्म सहकारी संस्थाले मन्त्रालयमा बुझाइसक्नुपर्ने हुन्छ ।’ माघ १५ गतेसम्म पनि सहकारी संस्थाले रिपोर्ट नबुझाएमा त्यस्ता सहकारी संस्थालाई बचत संकलन र ऋण प्रवाहमा रोक लगाउने उनले बताए । मन्त्रालयमा करिव ३ हजार ३ सय २६ वटा सहकारी संस्था आवद्ध रहेका छन् जसमध्ये हालसम्म करिव १२ सय वटा सहकारी संस्थाले साधारणसभा सम्पन्न गरी रिपोर्ट बुझाइसकेको उनले बताए ।







