हेटौँडा, यही फागुन २९ गतेदेखि हेटौँडामा आयोजना हुन लागेको दोस्रो खेलकुद, कृषि तथा पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ। मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौँडा–१० स्थित टीसीएन चौरमा महोत्सव सञ्चालन हुने जनाइएको छ।
जिल्लाको खेलकुद क्षेत्रको विकास गर्नुका साथै खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। महोत्सवमा विभिन्न ६ विधाका खेलकुद प्रतियोगिता समावेश गरिनेछ। प्रतियोगिताअन्तर्गत राष्ट्रिय महिला भलिबल, जिल्लास्तरीय पुरुष भलिबल, राष्ट्रिय तेक्वान्दो, जिल्लास्तरीय ब्याडमिन्टन, जिल्लास्तरीय कराँते तथा महिला र पुरुषतर्फ १० किलोमिटर दौड प्रतियोगिता सञ्चालन गरिनेछ।
महोत्सवको तयारीलाई अहिले तीव्रता दिइएको आयोजकले जनाएको छ। महोत्सव स्थलको घेराबार, स्टल निर्माण, खेलकुद प्रतियोगिता सञ्चालन हुने स्थानको मर्मतसम्भार लगायतका काम भइरहेको मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिए। महोत्सवबाट बचत हुने रकम मकवानपुर जिल्ला खेलकुद विकास समितिको भवन निर्माण तथा खेल सामग्री खरिदमा खर्च गरिने जनाइएको छ।
महोत्सव सञ्चालनका लागि करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शनका साथै दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति पनि रहने समितिका सदस्य मदन उप्रेतीले जानकारी दिए। मकवानपुर जिल्ला खेलकुद विकास समितिले यसअघि खेलकुद महोत्सव आयोजना गरिसकेको छ। दोस्रो खेलकुद महोत्सव चैत १४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।







