हेटौंडा, नयाँ खेलाडीहरुको प्रतिभा प्रस्फृुटन र पहिचानको उद्देश्यसहित हेटौंडामा मंगलबारबाट अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता सुरु भएको छ । मकवानपुर जिल्ला बक्सिङ र बागमती प्रदेश खेलकुद विकास परिषदको संयुक्त आयोजनामा नोभिस बक्सिङ सुरु भएको हो ।
चैत्र ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २३ जिल्लाका ३७ वटा क्लवका १५० पुरुष र २८ जना महिला गरी १७८ जना खेलाडी सहभागी छन् । प्रतियोगितामा १७ देखि २१ वर्ष उमेरसम्मका खेलाडी सहभागी छन् । उनीहरुले १६ विधामा प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ ९ र महिलातर्फ ७ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
विधागत प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट महिला र पुरुष खेलाडी, टिम, रेफ्री र लुजरलाई समेत नगद ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । राम्रो खेल्दाखेल्दै पनि हारेका एकजना वेष्ट लुजरलाई पुरस्कृत गरिनेछ । प्रतियोगिताको उद्घाटन मंगलबार बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गरेकी हुन् । प्रदेश सरकारले सबै खेललाई प्राथमिकतामा राखेर सहयोग गर्दै आएको उनको दावी थियो ।
‘हामीले सबै खेललाई उत्तिकै प्राथमिकता दिएका छौं । आगामी दिनमा थप योजनाबद्ध काम गर्नेछौं’, मन्त्री मोक्तानले भनिन्, ‘छिट्टै बागमती प्रदेश खेलकुद प्रतियोगिता गर्नेछौं । आवश्यक तयारी अघि बढाएका छौं ।’ प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सूर्यलाल भण्डारीले अल नेपाल नोभिस बक्सिङ प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिने प्रतिबद्धता जनाए । पछिल्लो समय खेलकुदमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा राम्रो नतिजा आउन थालेको भन्दै उनले खुसी व्यक्त गरे । नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलेअनुशासनलाई ध्यान दिन खेलाडीलाई अनुरोध गरे ।
प्रतियोगिताको उद्घाटनमा नेपाल बक्सिङ संघका महासचिव सविन भट्टचार्य, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौंडा उपमहानगरपालिकाका निवर्तमान मेयर हरिबहादुर महत, हेटौंडा ४ नम्वर वडा अध्यक्ष नवीन सिग्देल लगायतले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका थिए ।







