हेटौंडा–१९ नेवारपानीमा ट्रक र टेलर ठोक्किँदा एक जनाको मृत्यु

हेटौँडा, हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित पूर्व–पश्चिम सडकखण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। आज बिहान करिब ६ बजेको समयमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ९९२३ नम्बरको टेलर गाडी र चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख ०३९८ नम्बरको खाली ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्य गरेको थियो। दुर्घटनामा टेलर चालक स्टेरिङमा च्यापिएको अवस्थामा भेटिएका थिए। स्थानीयवासीको सहयोगमा उनलाई उद्धार गरी उपचारका लागि हेटौंडास्थित सीएमसी चुरेहिल अस्पताल पठाइएको थियो।

घाइते चालकको टाउको र दुवै खुट्टामा गम्भीर चोट लागेको थियो। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। मृतक सर्लाही जिल्लाको बरहथवा नगरपालिका–१५ पिपराभिट्टा घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका–२ छपकैया बस्ने करिब ३८ वर्षीय गोविन्द चौधरी रहेको खुलेको प्रहरीले जनाएको छ।

Advertisement 3

दुर्घटनामा संलग्न ट्रक चालक चितवनको खैरहनी नगरपालिका–९ बस्ने करिब ४२ वर्षीय धनेश्वर चौधरी सकुशल रहेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय नेवारपानीमा राखी आवश्यक अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *