हेटौँडामा न्यून आय परिवारका लागि आवास निर्माणमा ऋण सुविधा

हेटौँडा, हेटौँडा उपमहानगरपालिकामा न्यून आय भएका परिवारलाई लक्षित गर्दै सस्तो तथा लागत–प्रभावकारी आवास निर्माण र मर्मत सुधारका लागि ऋण सहयोग कार्यक्रम सञ्चालन गरिने भएको छ।

ADVERTISEMENT

उपमहानगरपालिका, लुमन्ती आवासका लागि सहयोग समूह र कामना सेवा विकास बैंकको सहकार्यमा सञ्चालन हुने यस कार्यक्रमबाट स्थानीय बासिन्दालाई आर्थिक तथा प्राविधिक सहयोग प्रदान गरिनेछ। लुमन्तीकी सामाजिक सहजकर्ता शान्ति बरुवालका अनुसार उपमहानगरभित्र बसोवास गर्ने न्यून आय भएका नागरिकले लागत–प्रभावकारी आवास निर्माण वा मर्मत सुधारका लागि अधिकतम एक ढलान घरसम्म ऋण लिन सक्नेछन्। व्यक्तिगत आवासका लागि अधिकतम ७ लाख रुपैयाँसम्म र सामूहिक आवास निर्माणका लागि १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध हुनेछ।

यस योजनाअन्तर्गत ऋणको वार्षिक ब्याजदर ८ प्रतिशत कायम गरिएको छ, जुन सात वर्षसम्म स्थिर रहनेछ। साथै, अग्रिम ऋण भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क लाग्ने छैन। ऋण लिएको अवस्थामा मासिक करिब १० हजार ५०० रुपैयाँ किस्ता तिर्नुपर्ने व्यवस्था गरिएको छ, र ऋण लिँदा सेवा शुल्क पनि लाग्ने छैन।

ऋण लिन इच्छुक सेवाग्राहीले सम्बन्धित टोल विकास संस्था र वडा कार्यालयको सिफारिस, जग्गाको लालपुर्जा, नक्सा, नागरिकताको प्रतिलिपि तथा मालपोत र सम्पत्ति कर तिरेको प्रमाण पेश गर्नुपर्नेछ। यस कार्यक्रममार्फत हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्रका न्यून आय भएका बासिन्दालाई मागका आधारमा आवास निर्माण तथा मर्मत सुधारका लागि आवश्यक ऋण र प्राविधिक सहयोग उपलब्ध गराइनेछ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *