मकवानपुरे क्रिकेटर रिजनले लिए गण्डकी विरुद्धको खेलमा ३ विकेट

हेटौँडा, मकवानपुरका क्रिकेटर रिजन ढकालको उत्कृष्ट बलिङ प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई फराकिलो अन्तरले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। २ सय ९५ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी प्रदेश ३१ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय २४ रनमा समेटियो।

ADVERTISEMENT

गण्डकीका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ७४ रन बनाए। उनले ९० बलमा ११ चौका प्रहार गरे। सुबाश भण्डारीले २९ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। आधा दर्जन खेलाडी शून्यमै आउट भए। बलिङतर्फ रिजन ढकालले ८ ओभरमा २ मेडनसहित ३१ रन खर्चिएर ३ विकेट लिँदै टिमको जितमा महत्वपूर्ण योगदान दिए। सन्दीप लामिछाने र इशान पाण्डेले समान २–२ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको बागमती प्रदेशले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९४ रन बनाएको थियो। ओपनर आशुतोष घिरैया र शुभ कंशाकारले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरे। शुभ ४४ रनमा आउट भए भने आशुतोषले ८७ बलमा ९ चौका सहित ५९ रन बनाए।

इशान पाण्डेले ६१ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ७१ रन जोडे। यस्तै उत्तम मगरले ३० रन, विवेक मगरले २७ रन र सन्दीप लामिछाने २६ रनमा अविजित रहे। बलिङमा गण्डकीका कमल परियारले १ विकेट लिए।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *