हेटौंडा, आज बिहीबारबाट हेटौंडामा बृहत खेलकुद तथा व्यापार महोत्सव आयोजना हुँदैछ । महोत्सवबाट आएको रकमले मकवानपुरको खेल क्षेत्रको विकास गर्ने योजनासहित आयोजना हुन लागेकोे खेलकुद तथा व्यापार महोत्सवको तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

खेलकुद गतिविधिका लागि आवश्यक संरचना निर्माण, खेल तालिका निर्माण, मैदान मर्मत सम्भार, महोत्सव स्थलको घेराबारा, स्टल निर्माण, प्रचारप्रसार लगायतको कार्य करिब सकिएको छ । खेलकुद महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले गर्ने भएका छन् । बिहीबार दिउँसो १ बजे उद्घाटनको कार्यतालिका रहेको आयोजकले जानकारी दिएको छ । खेलकुद महोत्सवका लागि मकवानपुरका खेलकुद संघका पदाधिकारी तथा खेलाडीहरु एकजुट भएर लागेका छन् । खेलकुद विकास समितिमा आबद्ध विभिन्न संघका पदाधिकारी तथा खेलाडीहरु उत्साही रहेका छन् । महोत्सवमा राष्ट्रिय, प्रदेश तथा स्थानीय गरी १२ वटा विधामा विभिन्न खेलकुद प्रतियोगिता हुनेछ ।
एथ्लेटिक्स, ब्याड्मिन्टन र तेक्वान्दोको जिल्लास्तरीय प्रतियोगिता, अन्तर जिल्ला महिला फुटबल, तेक्वान्दोको राष्ट्रिय खेल, क्युकोसिन र आइटिएफ, उसुको राष्ट्रिय खेल, हक्की, महिला राष्ट्रिय भलिबल, कबड्डी र महिला तथा पुरुषको रेस्लिङ हुनेछ । सबै प्रतियोगिताको विजेता उपविजेताले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महोत्सवमा खेलकुदको स्पर्धासँगै कृषि, पर्यटन, हस्तकला, खेलकुद सामग्री, धार्मिक, सामुदायिक, स्वास्थ्य, जनचेतनामुलक, खानाखाजाका स्टल समेत रहनेछ । बाल उद्दान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, खुला नृत्य प्रतियोगिता र लाइभ दोहोरी आयोजना हुने आयोजकले जानकारी दिएको छ । खेलकुद महोत्सवबाट कम्तिमा २५ लाख रुपैयाँ खेलकुद विकास समितिले बचत गर्ने लक्ष्य राखेको छ । महोत्सवबाट प्राप्त हुने रकम खेलकुद समितिमै राखेर खेल र खेलाडीको बृत्तिविकासमा लगाउने योजना रहेको आयोजकले बताएको छ ।