हेटौँडा, मकवानपुरको मनहरी गाउँपालिकाको १८औँ हिउँदे अधिवेशन सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको अध्यक्षतामा बसेको गाउँसभाले चालु आर्थिक वर्ष २०८२/०८३ को बजेटमा समावेश केही आयोजना तथा कार्यक्रमहरू संशोधन गर्ने निर्णय गरेको हो।
गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरले गाउँसभामा पेश गरेका ३७ वटा योजना संशोधन प्रस्तावलाई सभाले सर्वसम्मत रूपमा स्वीकृत गरेको छ। साथै उपाध्यक्ष पुलामीले प्रस्तुत गरेको आर्थिक ऐन २०८२ को पहिलो संशोधन प्रस्ताव पनि गाउँसभाबाट पारित भएको छ। यसैगरी, सुशासन तथा संस्थागत विकास समिति संयोजक ठाकुर तितुङले पेश गरेको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकसमेत गाउँसभाले स्वीकृत गरेको छ।
गाउँसभाको शून्य समयमा सभा सदस्य हिराबहादुर प्रजा, नवराज सुवेदी, रामप्रसाद सुवेदीलगायतले समसामयिक विषय तथा स्थानीय समस्याका बारेमा आफ्ना धारणा राखेका थिए। अधिवेशनको समापन गर्दै गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले समसामयिक विषयमा आफ्ना धारणा प्रस्तुत गर्दै १८औँ हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरेका थिए।
मनहरी गाउँपालिकाको प्रतिक चिन्ह सार्वजनिक
यसै अवसरमा मनहरी गाउँपालिकाको प्रतिक चिन्ह (लोगो) पनि औपचारिक रूपमा सार्वजनिक गरिएको छ। ‘शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारः समृद्ध मनहरीको आधार’ भन्ने नारासहितको प्रतिक चिन्हमा वन्यजन्तु, मानिसहरूको विविधतायुक्त चित्र, कृषक र अन्नबाली, प्राकृतिक दृश्य तथा नेपालको राष्ट्रिय झण्डा समावेश गरिएको छ।
रातो, नीलो र हरियो रङको संयोजन प्रयोग गरी तयार गरिएको उक्त प्रतिक चिन्ह हेटौँडाकी संहिता पौडेलले डिजाइन गरेकी हुन्। यसअघि कार्यपालिका बैठकबाट स्वीकृत भइसकेको प्रतिक चिन्हलाई गाउँसभाका बीच गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगर र प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले संयुक्त रूपमा सार्वजनिक गरेका थिए।
लोगोले मनहरी गाउँपालिकाको सामाजिक, सांस्कृतिक, आर्थिक, पर्यावरणीय तथा भौगोलिक पहिचानलाई एकैसाथ उजागर गर्ने उद्देश्य राखिएको लोगो निर्माण समितिका संयोजक तथा वडा नम्बर ५ का वडाध्यक्ष दिपेन्द्र अधिकारीले जानकारी दिए।






