हेटौंडा, यस वर्षपनि गायक तथा सङ्गीतकार भीम विरागको स्मृतिमा दोस्रो अन्तर विद्यालय स्तरीय खुल्ला एकल गायन प्रतियोगिता हुने भएको छ । बालबालिकामा रहेका अन्र्तनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले फागुन ४ गते प्रतियोगिता आयोजना हुन लागेको हो।

हेटौंडा ५ मा रहेको ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालयको आयोजनामा हुने प्रतियोगितामा हरेक संस्थागत तथा सामूदायिक विद्यालयबाट एक जना छात्र र एकजना छात्र प्रतिस्पर्धामा भाग लिन पाइने विद्यालयका प्रिन्सिपल श्यामकुमार बानियाँले जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुन फागुन २ गतेभित्र नाम दर्ता गराइसक्नु पर्ने छ । दर्ता शुल्क १ हजार ५ सय रुपैयाँ विद्यालयले तोकेको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः नगद १० हजार, ७ हजार, ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ भने दुई जनालाई प्रोत्साहन पुरस्कार २ हजार ५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रिन्सिपल बानियाँले बताए ।
प्रतियोगिताका कक्षा १ देखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीले सहभागिता जनाउन पाउने छन् । गत वर्ष भएको एकल गायन प्रतियोगितामा नवोदय शिशु सदनका चिराग डंगोल प्रथम, बालजागृति इङ्लिस सेकेण्डरी विद्यालयकी सुजैना गहतराज द्वितीय र ज्ञानोदय बालबाटिका आवसीय विद्यालयकी आयुस्मा उप्रेती तृतीय भएका थिए ।






