हेटौँडा, बागमती प्रदेश सरकारले प्रदेशभर सञ्चालनमा रहेका निजी तथा गैरसरकारी अस्पतालहरूलाई स्वास्थ्यकर्मीहरूका लागि सरकारले तोकेको न्यूनतम पारिश्रमिक तथा सेवा सुविधा अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ।
प्रदेश स्वास्थ्य मन्त्रालयले बुधबार जारी गरेको सूचनामा मन्त्रालयअन्तर्गत दर्ता तथा नवीकरण भएका अस्पतालहरूमा कार्यरत नर्सिङ स्टाफ र अन्य स्वास्थ्यकर्मीहरूले तोकिएको न्यूनतम पारिश्रमिक तथा सुविधा नपाएको गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयले श्रम ऐन, २०७४ को व्यवस्था स्मरण गराउँदै सबै रोजगारदाताहरूले श्रमिकका रूपमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई कम्तीमा न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुका साथै बिरामी बिदा, उपदान, सञ्चय कोष र बीमा जस्ता सामाजिक सुरक्षा सुविधा सुनिश्चित गर्नुपर्ने स्पष्ट पारेको छ।
यसैगरी, २०८२ कात्तिक १५ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सरोकारवाला पक्षहरूबीच भएको सहमति पूर्ण रूपमा कार्यान्वयन गर्न पनि निर्देशन दिइएको छ।
मन्त्रालयले कुनै पनि स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक तथा सेवा सुविधाबाट वञ्चित गरिएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ। साथै, अस्पतालहरूको नियमित अनुगमन गरिने र निर्देशित व्यवस्था कार्यान्वयन नभएको पाइएमा आवश्यक कानुनी तथा प्रशासनिक कदम चाल्न बाध्य हुने जनाएको छ।






