हेटौँडा, हेटौँडाको पदमपोखरी-१३ को एक शान्त साँझ, फेन्चु लामा आफ्ना ड्रागन फ्रुटका बोटहरू नियालिरहेका छन्। कहिले बिरुवाहरूको सूक्ष्म निरीक्षण गरिरहेका छन् त कहिले सहयोगी कामदारहरूलाई केही निर्देशन दिइरहेका छन्।
उनको यो हाउभाउमा एउटा दृढ आत्मविश्वास झल्किन्छ( अनुभवले मात्र होइन, आफ्नै सङ्कल्पले सँगालिएको आत्मविश्वास। केही वर्षअघिसम्म उनी कक्षाकोठामा विद्यार्थीहरूसँग रमाइरहेका हुन्थे, आज भने उनी खेतको माटोसँग आफ्ना अनुभव साटिरहेका छन्। ‘सात वर्ष भयो,’ लामा भन्छन्, ‘यसअघि म सेवा क्षेत्रमा थिएँ, एक गणित शिक्षकको रूपमा। अहिले म किसान हुँ।’
शिक्षकबाट कृषि उद्यमी बन्ने उनको यो यात्रा अचानक तय भएको भने होइन। यो लामो अनुभव र गहिरो अवलोकनको उपज हो। त्यसको केन्द्रमा थियो पदमपोखरी चोकमा रहेको उनका बुबाको एग्रोभेट पसल, जहाँ किसानहरू सधैँ आफ्ना समस्या र समाधान खोज्दै आउने गर्थे। ‘म पसलमा बस्दा किसानका कुरा सुन्थेँ,’ उनी सम्झिन्छन्, ‘त्यसपछि मलाई लाग्न थाल्यो, हामीले उत्पादनतर्फ लाग्नुपर्छ। नेपाल पूर्ण रूपमा आयातमा निर्भर छ। आयातित वस्तुहरूको मात्रै उपभोग गरेर, उत्पादनमै नलाग्ने हो भने देशमा कसरी परिवर्तन आउँछ’ यही प्रश्नले उनलाई घच्घच्याइरह्यो। लामो समय सेवा क्षेत्रमा बिताएपछि उनमा उत्पादनमूलक क्षेत्रमा केही गर्ने हुटहुटी बढ्दै गयो। उनी नयाँ अवसरहरूको खोजीमा थिए। त्यही समयमा उनले कृषि क्षेत्रमा सम्भावना देखे-ड्रागन फ्रुटको उच्च मूल्य, बोयर बाख्राको उन्नत जात र सयपत्री फूलको बढ्दो माग।
‘बजारमा माग छ भने हामीले किन उत्पादन नगर्ने’ उनी प्रतिप्रश्न गर्छन्। त्यही सकारात्मक सोचको परिणामस्वरुप ‘एम.एन.एस. एग्रो प्रा.लि.’ को जन्म भयो। करिब डेढ बिघा जमिनमा फैलिएको यस फार्ममा अहिले ड्रागन फ्रुट, मेवा, खरबुजा र सयपत्री फूलको व्यावसायिक उत्पादन हुनुका साथै बाख्रापालन पनि गरिन्छ। एउटा सानो प्रयासबाट सुरु भएको उनको कर्म अहिले व्यवस्थित कृषि उद्यममा परिणत भएको छ। करिब ४ करोड रुपैयाँ लगानी रहेको यस फार्मको मुख्य आम्दानीको स्रोत भने ड्रागन फ्रुट हो।
तर, लामाको खेती परम्परागत बाली उत्पादनमा मात्र सीमित छैनस यो नयाँ प्रयोग र आधुनिक प्रणाली निर्माणको एउटा सफल अभ्यास पनि हो। ड्रागन फ्रुट खेतीमा उनले नवीन प्रविधि अपनाएका छन्। बेमौसम (अफ-सिजन) मा पनि उत्पादन बढाउन कृत्रिम बत्तीको प्रयोग गरिएको छ। सेन्सरमार्फत बत्ती आफैँ बल्ने र निभ्ने स्वचालित व्यवस्था मिलाइएको छ। साथै, उनले परम्परागत ‘पोल’ प्रणालीलाई विस्थापित गर्दै विस्तारै ‘ट्रेलिस’ प्रणालीतर्फ खेतीलाई रूपान्तरण गरिरहेका छन्, जसले उत्पादन र व्यवस्थापन दुवैमा सुधार ल्याउँछ। ‘सानो प्राविधिक परिवर्तनले पनि ठूलो फरक पार्छ,’ उनी भन्छन्।
यद्यपि, उनको यो यात्रा सोचेजस्तो सहज भने थिएन। ड्रागन फ्रुटजस्तो बालीबाट व्यावसायिक उत्पादन लिन कम्तीमा पाँच वर्षको धैर्यता चाहिन्छ। प्राकृतिक जोखिमहरू उत्तिकै छन्। फल पाक्ने बेला चराचुरङ्गीले करिब १० प्रतिशतसम्म क्षति पुर्याउँछन् भने केही गम्भीर ढुसीजन्य रोगको प्रकोप पनि देखिन्छ। रोगका कारण बिरुवा पहेँलो हुने, बोटको वृद्धि रोकिने र फल उत्पादनमा ह्रास आउने समस्या उनले भोगेका छन्। यी चुनौतीको सामना गर्दै उनी भन्छन्, ‘हामी यसको व्यवस्थापन गर्दैछौँ, चराबाट बचाउन ‘बर्ड नेटु र फललाई सुरक्षित राख्न ब्यागिङुको काम भइरहेको छ।’
यो फार्म पूर्ण रूपमा पारिवारिक जनशक्ति र ज्ञानमा आधारित छ। प्राविधिक अनुभवसहित उनका बुबा यसमा सक्रिय छन् भने उनकी श्रीमतीले कृषिमै अध्ययन गरेकी छन्। लामा आफैँले पनि स्नातकोत्तर गरेपछि जेटिए पढेर कृषिसम्बन्धी विशेष तालिम लिएका छन्। परिवारबाहेक फार्ममा चार जना स्थायी कामदार छन् भने मुख्य सिजनमा थप ज्यालादारी कामदार पनि राखिन्छ। ‘यो मेरो एक्लैको प्रयास होइन,’ उनी भन्छन्, ‘हामीले अरूलाई पनि सिकाएर कृषिमा काम गर्न सक्ने दक्ष बनाएका छौँ।’
लामाको यो अथक मेहेनतले राम्रो पहिचान पनि पाएको छ। उनले स्थानीय तहदेखि प्रदेश र राष्ट्रिय स्तरसम्मका विभिन्न उत्कृष्ट कृषक सम्मानहरू प्राप्त गरिसकेका छन्। हरेक प्रोत्साहन उनका लागि नयाँ कामको सुरुवात गर्ने प्रेरणा बनेको छ।
आगामी दिनमा उनी उत्पादनमा मात्र सीमित नरही प्रशोधनतर्फ अघि बढ्ने योजनामा छन्। ‘ड्रागन फ्रुटबाट जुस, क्यान्डी र वाइन बनाउन सकिन्छ,’ उनी भन्छन्, ‘उत्पादन भएको कुनै पनि कुरा खेर जानु हुँदैन।’
यद्यपि, उनी कृषि क्षेत्रका प्रणालीगत समस्याहरूबारे पनि जानकार छन्। समयमा मल नपाइनु, गुणस्तरीय बीउको अभाव, कृषि बिमाको झन्झट र स्थिर बजार नहुनु आज पनि किसानका मुख्य चुनौती हुन्। किसानलाई संरक्षण गर्ने सरकारी नीति, कृषि उपजको न्यूनतम समर्थन मूल्य निर्धारण र डिजिटल बजारको पहुँच तत्काल आवश्यक रहेको उनी औँल्याउँछन्।
लामा केवल व्यक्तिगत सफलताको उदाहरण मात्र बन्न चाहँदैनन्। नेपाली माटोले बोकेको ‘कृषिप्रधान मुलुकुको वास्तविक अर्थ सबै युवाहरूले महसुस गर्नुपर्नेमा उनको जोड छ।’ राज्यले कृषि क्षेत्रमा विशेष ध्यान दिनुपर्छ,’ उनी स्पष्ट छन्, ‘मैले धेरै वर्ष सेवा क्षेत्रमा काम गरेँ, अब मेरो बाँकी ऊर्जाशील समय माटो र कृषिकर्ममै बिताउन चाहन्छु।’ (स्रोतः रातोपाटी)







