हेटौंडा, मकवानपुरको हेटौंडाका सेवाग्राहीले राहदानी लिन जिल्ला प्रशासन कार्यालय मकवानपुर धाउनुपर्ने झन्झटबाट बुधबारबाट छुटकारा पाएका छन्। जिल्ला प्रशासन कार्यालय मकवानपुरले हुलाक सेवामार्फत राहदानी सिधै घरमै पुर्याएको हो।
हुलाक कार्यालय मकवानपुरले आज हेटौंडा उपमहानगरपालिका-४ कपुर कम्प्लेक्स भवन नजिकका २२ वर्षीय निश्चल मानन्धरको घरमै राहदानी बुझाएको थियो । राहदानी बुझाउन हलकारा, हुलाक कार्यालयका प्रमुख र जिल्ला प्रशासन कार्यालयका कर्मचारी पुगेका थिए ।
घरको आँगनमा राहदानी पाउँदा मानन्धरले भने, ‘बल्ल बालेन सरकारले राम्रो कामको सुरुवात गर्यो,यस्तै काम अन्य क्षेत्रमा पनि गर्नु पर्यो ।’ जिल्ला प्रशासन कार्यालय मकवानपुरले राहदानी वितरण गर्न हुलाक कार्यालयलाई बुधबार ५० वटा राहदानी पठाएको छ । ‘पठाएको राहहदानी आजै सबै घर-घरमा पुर्याउँछौं,’ हुलाकका प्रमुख रमेश लामिछानले भने।
राज्यले सर्वसाधारणलाई घरदैलो सेवा प्रवाह गर्ने बुँदा नम्बर २७ लाई कार्यान्वयन गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय हेटौंडाको समन्वयमा हुलाक कार्यालय मकवानपुरले उक्त कार्य सुरु गरेको हो ।सेवाग्राहीको समय र श्रम बचत गर्ने उद्देश्यसहित सुरु गरिएको यस पहलले राहदानी वितरण प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।






