हेटौंडा, थाहा नगरपालिकामा विहीबारबाट कृषि पर्यटन व्यापार मेला–चौथो थाहा महोत्सव शुरु भएको छ । थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरट्टेलले थाहा महोत्सवको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि रहेका मुख्यमन्त्री जम्मरकट्टेलले प्रदेश सरकारले कृषि क्षेत्रको रुपान्तरणका लागि समुदायमा आधारित अनुदान कार्यक्रम लागु गर्ने तयारी गरिरहेको बताए । कृषि क्षेत्रमा आवद्ध कृषकहरुलाई लक्षित गरी पकेट क्षेत्र घोषणा गरेर अनुदान तथा उत्पादनका कार्यक्रम कार्यान्वयन गर्ने तयारी सरकारले गरेको उनको भनाई छ ।
प्रदेश सरकारले स्थानीय तहको सिफारिसका आधारमा बागमती प्रदेशमा ८५ वटा पकेट क्षेत्र घोषणाको तयारी गरेको उनले बताए । समुदायमा आधारित उत्पादन मोडल अनुसार सरकारले स्थानीय र प्रदेश सरकारसंग कृषक, निजी क्षेत्र र सहकारीहरुलाई जोड्ने तयारी गरेको मुख्यमन्त्री जम्कट्टेलले बताए । उक्त मोडल अनुसार उत्पादन वृद्धिका लागि प्रदेश र स्थानीय तहको लगानीमा कृषकहरुलाई सहयोग गर्दै बजारीकरणमा निजी क्षेत्रसंगको सहकार्य गरिने उनले बताए ।
कार्यक्रममा मकवानपुरका सांसद महेशकुमार बतौलाले रोष्टममै पुगेर मकवानपुरमा अति आवश्यक रहेको योजना बारे जानकारी गराउँदा पनि रकम नछुट्याएर सरकारले अन्याय गरेकोमा गुनासो पोखे ।
थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालले कृषि पर्यटनलाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजित महोत्सवमा लोपोन्मुख सामानहरुको प्रदर्शनी, कृषि उपज, अटो प्रदर्शनी, सूचना प्रविधि सम्बन्धि जानकारी, दैनिक उपभोग्य सामाग्रीको बिक्रीलगायत २ सय ३० वटा स्टल रहने बताए । महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकार, स्थानीय कलाकार र थाहा आइडल (एकल नृत्य) को प्रस्तुती रहने उनले जानकारी दिए ।
कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, सांसद प्रेमबहादुर पुलामी छिन्तु, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण कटुवाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण अग्रवाल, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाललगायतको आतिथ्यता रहेको थियो ।
उद्घाटनअघि थाहानगरको ओखरबजारबाट विशेष झाँकी र बाजागाजासहित विशाल शोभायात्रा गरिएको थियो । शोभायात्रामा परम्परागत सांस्कृति झाकीहरुसहित थाहा खैजडी भजन, महिला पन्चेबाजा, महिला खैजडी भजन, तामाङ ढयांग्रो, महिला समूहहरु, स्थानीय स्काउट, विद्यार्थीहरुलगायतको सहभागिता रहेको थियो ।







