हेटौँडा, नेपाल पानी उद्योग महासंघले कच्चापदार्थ, ढुवानी तथा उत्पादन लागतमा अत्यधिक वृद्धि भएकाले प्रशोधित पिउने पानीको मूल्य समायोजन अपरिहार्य बनेको जनाएको छ। महासंघका महासचिव ध्रुव प्रसाद अधिकारीद्वारा शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उद्योग सञ्चालन निरन्तरता, रोजगारी संरक्षण र उपभोक्तालाई गुणस्तरीय पानी उपलब्ध गराउन मूल्य समायोजन आवश्यक भएको उल्लेख गरेको हो।

महासंघका अनुसार नेपालमा हाल ६२० भन्दा बढी प्रशोधित पिउने पानी उद्योग सञ्चालनमा रहेका छन्, जसबाट प्रत्यक्ष रूपमा ३० हजारभन्दा बढी व्यक्तिले रोजगारी पाएका छन्। यस क्षेत्रले राष्ट्रिय अर्थतन्त्र, राजस्व संकलन, रोजगारी सिर्जना, बजार आपूर्ति प्रणाली तथा उपभोक्ता सेवामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको महासंघको भनाइ छ।
विज्ञप्तिमा पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, प्रिफर्म रोल, जार, जार क्यापलगायत कच्चापदार्थको मूल्य करिब ४० प्रतिशतभन्दा बढी वृद्धि भएको उल्लेख छ। डिजेल तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, अन्तर्राष्ट्रिय परिस्थितिका कारण कच्चापदार्थ आपूर्ति असहज हुनु र उत्पादन लागत बढ्नुले उद्योगहरू प्रत्यक्ष प्रभावित भएको महासंघले जनाएको छ।
महासंघले जिल्ला तथा प्रदेश संघहरू, सरोकारवाला निकाय, व्यवसायी र सदस्य उद्योगीसँग परामर्श गरी हाल कायम मूल्यमा उद्योग सञ्चालन गर्न कठिन भएको निष्कर्ष निकालेको जनाएको छ। उद्योगीहरूको लागत वृद्धि, ढुवानी खर्च र बजार अवस्थालाई ध्यानमा राख्दै सदस्य उद्योगहरूलाई लागतअनुसार पानीको मूल्य समायोजन गरी बिक्री वितरण गर्न अनुरोध गरिएको छ।
महासंघले सरकारसँग उद्योग सञ्चालन सहज बनाउने, कच्चापदार्थको उपलब्धता सुनिश्चित गर्ने, ढुवानी तथा लागत नियन्त्रणका उपाय अपनाउने र उद्योगमैत्री नीतिगत सहजीकरण गर्न आग्रह गरेको छ। साथै उपभोक्ता, वितरक, व्यवसायी तथा सरोकारवाला निकायसँग उद्योग संरक्षण, रोजगारी जोगाउने र सेवा निरन्तरताका लागि सहयोग गर्न अपिल गरेको छ।






