२० वर्षदेखि सालक जोगाउँदै रानीवन

हेटौंडा, हेटौंडा उपमहानगरपालिकासँगै जोडिएको मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीमा भेटिएका दुई वटा सालकलाई संरक्षणका लागि हेटौंडा उपमहानगरपालिका–६ चौघडास्थित रानी सामुदायिक वन उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ। मक्रान्चुलीका मनिष देवकोटाले राति आफ्नो गोठमा माउ र बच्चा गरी दुई वटा सालक फेला पारेका थिए।

ADVERTISEMENT

गोठमा सालक देखिएपछि कुकुरले भुक्दै सालकलाई आक्रमण गर्न लागिरहेको अवस्थामा देवकोटा उठेर हेर्दा सालक फेला पारेका हुन्। कुकुरबाट बचाएर सालकलाई आफ्नो नियन्त्रणमा लिएर संरक्षणका लागि रानी सामुदायिक वनका उपभोक्ता समितिलाई वडाध्यक्ष विष्णुप्रसाद दाहालको रोहवरमा बुझाएका थिए। माउ सालक १२ केजी तौलको थियो भने बच्चा ३ केजी तौलको भएको रानी सामुदायिक वन उपभोक्ता समितिका कार्यालय सचिव भीमसेन पौडेलले बताए।

मकवानपुरमा दुई दशकदेखि हेटौंडा उपमहानगरपालिका–६ चौघडास्थित रानी सामुदायिक वन उपभोक्ता समितिले सालक संरक्षण गर्दै आएको छ। रानी वनले २०६२ सालबाट सालक संरक्षण सुरू गरेको थियो। वनले आफ्नो क्षेत्रको करिब २० हेक्टर क्षेत्र दुर्लभ वन्यजन्तु सालकका लागि छुट्याएको छ। वन क्षेत्रका ७ वटा ब्लकमध्ये २ वटा ब्लक सालक संरक्षणका लागि छुट्याइएको छ।

उक्त समूहमा संरक्षित सालक हेर्न र यसबारे अध्ययन–अवलोकन गर्न देश तथा विदेशबाट हजारभन्दा बढी भ्रमण टोली वन समूहमा आइसकेका छन्। वनको ब्लक नम्बर ५ र ६ लाई सालक संरक्षित क्षेत्र बनाएर लोपोन्मुख एवं संरक्षित सूचीमा रहेको सालकको संरक्षण गरिरहेका छन्। सालक जोगाउन सालकको आहारा कमिला र धमिराको गोलो संरक्षणमा स्थानीय उपभोक्ता जुटेका छन्।

सालकका बारेमा जानकारी दिन सचेतनामूलक होर्डिङ बोर्ड, सालकको मूर्ति, सालक केज निर्माण गरी जानकारी दिनुका साथै घाइते सालकको उद्धार गर्ने गरिएको छ। बाहिरी जिल्लाका साथै मकवानपुरका स्थानीयले आफ्नो क्षेत्रमा फेला परेको सालक समेत रानी वन समूहलाई हस्तान्तरण गर्ने गरेका छन्।

Advertisement 5

सालक भएको क्षेत्रमा मानवीय गतिविधिलाई निषेध गर्नुका साथै सालकको संरक्षण गर्दै आएको छ। विभिन्न स्थानमा फेला परेका सालकहरू संरक्षणका लागि रानी सामुदायिक वनमा ल्याएर छोड्ने गरिएको छ। रानी सामुदायिक वनमा अहिले ५ दर्जनभन्दा बढी सालकहरू रहेको सामुदायिक वनका अध्यक्ष केशव धितालले बताए।

अन्यत्रबाट सालक ल्याएर बुझाउनेलाई रानी सामुदायिक वनले सम्बन्धित व्यक्तिलाई प्रमाणपत्रसहित नगद पुरस्कार पनि दिने व्यवस्था गरेको छ। उक्त सामुदायिक वनमा बिरामी सालकलाई उपचार गर्नका लागि पनि केज बनाइएको छ। उक्त सामुदायिक वन समूहले मात्र संरक्षण गर्दै आएको सालक अहिले मकवानपुरका अन्य सामुदायिक वन उपभोक्ता समितिले पनि संरक्षण अभियान चलाएका छन्।

सालकको संरक्षणको अवस्था, बासस्थान, पारिस्थितिकीय प्रणालीको ज्ञानमा अभिवृद्धि गर्ने, सालकको अवैध चोरी, सिकार तथा व्यापार नियन्त्रण गर्ने, बासस्थानको संरक्षणका लागि खोजी एवं व्यवस्थापन गर्ने, स्थानीय जनताको उत्तरदायित्व वृद्धि गर्ने जस्ता कार्यहरू जिल्ला वन कार्यालयले अगाडि बढाइरहेको सहायक वन अधिकृत वसन्त गौतमले बताए।

चितवन गैँडाका लागि, बर्दिया बाघका लागि परिचित छ भने मकवानपुरलाई सालकबाट ९प्यांगोलिन० चिनाउन प्रयास गरिँदै आएको छ। सालकको संरक्षण अभियान सञ्चालन गर्दै जिल्लाको गौरवको प्राणीका रूपमा घोषणा गरिएको छ। जिल्लाका सबै क्षेत्रमा पाइने शान्त एवं लजालु स्वभावको स्तनधारी जनावर सालकलाई जिल्ला समन्वय समिति, डिभिजन वन कार्यालय राप्ती मकवानपुर र जिल्ला वन कार्यालय हेटौंडाले २०७९ सालमा जिल्लाको गौरवको प्राणी घोषणा गरेका थिए।

सालक किसानको साथी हो। यसले खेतीबाली र उत्पादनलाई नोक्सान गर्ने जीवलाई खाएर नियन्त्रण गर्छ। एउटा वयस्क सालकले एक दिनमा दुई लाख ३० हजार र वर्षमा करिब सात करोडसम्म त्यस्ता कमिला र धमिरा खाने गर्दछ। ‘त्यसो नगर्ने हो भने किरा र कमिलाका कारण हाम्रा बालीनाली फस्टाउन सक्दैनथे,’ वन कार्यालयका सहायक वन अधिकृत गौतमले भने, ‘जमिन खोस्रेर उर्बरा बनाउँछ, यसै कारण सालकको संरक्षण आवश्यक छ।’

आठ प्रजातिका सालकमध्ये संसारमै दुर्लभ मानिएका दुई प्रजाति कालो सालक ९चाइनिज प्यांगोलिन० र तामे सालक ९इन्डियन प्यांगोलिन० नेपालमा पाइन्छन्। नेपालमा पाइने स्तनधारीमध्ये कालो सालक अन्तर्राष्ट्रिय रूपमा अति संकटापन्न वन्यजन्तु हो। विश्वबाट नै लोपोन्मुख अवस्थामा रहेको सालक मकवानपुर जिल्लामा यसको संख्या राम्रो रहेको छ। त्यसैले अर्को पुस्ताले पनि सालक देख्न पाओस् भनेर यसको संरक्षणका लागि गौरवकै प्राणीका रूपमा घोषणा गरिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले बताए।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०७३ अनुसार सालक मार्ने, खरीदबिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। (स्रोतः इकान्तिपुर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *