हेटौंडा, हेटौंडामा राप्ती खोलाले बगाउँदा एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ भैरवरोड बस्ने १० वर्षीय संसाद अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, दिउँसो आफ्नो परिवारसंग हेटौंडा उपमहानगरपालिका वडा नं.१ स्थित तरकारी बजार नजिकै राप्ती खोलामा नुहाउन गएका उनलाई एक्कासी खोलाले बगाएको थियो । खोलाले बगाएका उनलाई हेटौंडा उपमहानगरपालिका वडा नं।१० स्थित राप्तीपुल नजिकैबाट बेहोस् अवस्थामा स्थानीयहरुले उद्दार गरी हेटौंडा अस्पतालमा उपचारको लागि लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
ती बालकको शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ । कानूनी प्रक्रिया पुरा गरी शव आफन्तलाई बुझाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।






