हेटौँडा, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचनको नतिजापछि हारको चिन्तामा अल्झिनुभन्दा पार्टीको भविष्यबारे गम्भीर चिन्तन गर्नुपर्ने बताएका छन्। उनले निर्वाचन परिणामले कांग्रेसलाई नयाँ अवसरसँगै चुनौती पनि दिएको उल्लेख गरे।
कांग्रेस केन्द्रीय समितिको आयोजना तथा बागमती प्रदेश कार्यसमितिको व्यवस्थापनमा सोमबार हेटौँडामा आयोजित निर्वाचन समीक्षा बैठकलाई सम्बोधन गर्दै सभापति थापाले समीक्षा भनेको गल्ती खोज्ने प्रक्रिया मात्र नभई आगामी यात्रा तय गर्ने अवसर भएको बताए।
उनले कांग्रेस देश सम्हाल्ने जिम्मेवार पार्टी भएकाले हार–जितबाट विचलित नहुने स्पष्ट पारे। प्राप्त नतिजाको गहन समीक्षा गर्दै आगामी कार्यदिशा तय गर्न कांग्रेस अग्रसर रहेको उनको भनाइ थियो।
थापाले कहिलेकाहीँ देश जिताउनका लागि पार्टीले हार व्यहोर्नुपर्ने अवस्था आउने उल्लेख गरे। निर्वाचनमा हार–जित प्राविधिक विषय भए पनि लोकतन्त्रलाई सही मार्गमा राख्न गत फागुनको निर्वाचनमा कांग्रेसको भूमिका महत्त्वपूर्ण रहेको उनले बताए।
उनका अनुसार कांग्रेस हारे पनि देशले जितेको छ र व्यवस्थालाई सही ट्र्याकमा ल्याउने काम भएको छ। देशमा विधिको शासन कायम गर्न कांग्रेसले निर्णायक भूमिका खेलेको उनको दाबी थियो।
“अहिले हामीसँग दुई विकल्प छन्—चिन्ता गर्ने वा चिन्तन गर्ने। चिन्ताले समस्या मात्र देखाउँछ र दोषारोपण सिकाउँछ, तर चिन्तनले समाधान खोज्न प्रेरित गर्छ। कांग्रेसलाई अहिले चिन्तनको खाँचो छ,” उनले भने।
सभापति थापाले प्रधानमन्त्री होस् वा कांग्रेस सभापति, राज्यले अनुसन्धान गर्न खोज्दा सबैले सहयोग गर्नुपर्ने बताए। २०४८ सालयता सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने र दोषी ठहरिए सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने धारणा पनि उनले राखे।
राज्यले विधिको शासनअनुसार गरिरहेको अनुसन्धानको विरोधमा कुनै कांग्रेस कार्यकर्ता सडकमा नआउने उनले बताए। आफू स्वयं कांग्रेस सभापति भएर पनि छानबिनको दायरामा परे विरोध नगर्ने उनले दाबी गरे। तर राज्य पक्षबाट पनि लोकतन्त्र र विधिको शासन पालना हुनुपर्नेमा कांग्रेस अडिग रहेको उनको भनाइ थियो।
थापाले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही रहेको भन्दै २४ गतेको घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरे।
पार्टी सदस्य भएर चुनावमा अर्को पार्टीलाई मत दिन नपाइने स्पष्ट पार्दै उनले कांग्रेसलाई २००७ सालजस्तै क्रान्तिकारी, २०४६ सालजस्तै लोकप्रिय र २०७० सालजस्तै भरोसायोग्य बनाउन इतिहासबाट पाठ सिक्नुपर्नेमा जोड दिए।
“आम मतदाताले जसलाई पनि मत हाल्न सक्छन्। तर पार्टीको क्रियाशील सदस्यले विधान मान्नुपर्छ। कांग्रेसको सदस्य रहने हो भने रुख चिन्हमै मतदान गर्नुपर्छ,” उनले भने।
सभापति थापाले अब विशेष महाधिवेशनको बहस अन्त्य भइसकेको भन्दै सबै नेता–कार्यकर्ता एकजुट भएर १५औँ महाधिवेशनको तयारीमा जुट्नुपर्ने बताए। गुटबन्दी अन्त्य गर्दै नयाँ पुस्ता र छुटेका समर्थकलाई समेटेर अघि बढ्नुपर्ने जिम्मेवारी कांग्रेससामु रहेको उनले उल्लेख गरे।






