हेटौँडा, हेटौँडा–भीमफेदी–काठमाडौँ सडक खण्डमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेश सरकारले मालवाहक सवारीका लागि वैकल्पिक मार्ग सञ्चालन गर्नेदेखि देउरालीमा प्रहरी चौकी स्थापना गर्नेसम्मका निर्णय गरेको छ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको अध्यक्षतामा सोमबार बसेको बैठकले सडक सुरक्षा सुधार, सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणका लागि विभिन्न निर्णय गरेको हो। बैठकले हेटौँडा–भीमफेदी–देउराली सडक खण्ड चौडा गर्ने, आवश्यक स्थानमा पुल निर्माण गर्ने र मादक तथा लागुपदार्थ सेवन गरेर सवारी चलाउने चालकको जाँचलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।
बैठकले एकतर्फी सवारी व्यवस्थापनका लागि मालवाहक सवारी साधनलाई भीमफेदी–कोगटेतर्फको वैकल्पिक मार्गबाट सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ। यसका लागि आवश्यक रुट परमिट तथा पटके अनुमति व्यवस्थापनको जिम्मेवारी यातायात व्यवस्था कार्यालय मकवानपुरलाई दिइएको छ।
त्यसैगरी, हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने सडकअन्तर्गत मकवानपुरतर्फ पर्ने देउरालीको उपयुक्त स्थानमा प्रहरी चौकी स्थापना गरिने भएको छ। सम्बन्धित स्थानीय तहसँग समन्वय गरी प्रहरी चौकी व्यवस्थापन गर्न आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयलाई निर्देशन दिइएको छ। उक्त प्रहरी चौकीबाट मापसे तथा लापसे जाँचको व्यवस्था मिलाइने निर्णयसमेत भएको छ।
सवारी दुर्घटना न्यूनीकरणका लागि मादक पदार्थ तथा लागुपदार्थ सेवन जाँचको दायरा पनि विस्तार गरिने भएको छ। ट्राफिक प्रहरी कार्यालय मकवानपुर र जनस्वास्थ्य कार्यालयसँग समन्वय गरी जाँचलाई प्रभावकारी बनाउन स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी दिइएको छ। जाँचका लागि आवश्यक किट तथा सामग्री स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले उपलब्ध गराउनेछ।
बैठकले हेटौँडा–भीमफेदी–देउराली सडक खण्ड चौडा गर्न तथा आवश्यक स्थानमा सडक पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गरी निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। यसका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिइएको छ। निर्माण कार्यका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले स्रोत व्यवस्थापन गर्ने तथा आवश्यक थप बजेट प्रदेश विपद् व्यवस्थापन कोषबाट समेत व्यवस्था गर्ने निर्णय भएको छ।
यसैगरी, सवारी साधनको प्राविधिक अवस्था परीक्षण गर्न बागमती प्रदेशमा सवारी साधन परीक्षण केन्द्र ९भेहिकल फिटनेस टेस्ट सेन्टर० स्थापना गरिने भएको छ। यससम्बन्धी आवश्यक प्रस्ताव आगामी प्रदेश मन्त्रिपरिषद् बैठकमा पेस गर्न उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको छ।
विद्युतीय सवारी साधनमा कानुनले निर्धारण गरेको सिट संख्याभन्दा बढी सिट थपेर सञ्चालन गर्ने प्रवृत्तिलाई समेत नियन्त्रण गरिने भएको छ। निर्धारित सिट संख्याको पालना भए–नभएको अनुगमन गरी नियमविपरीत सिट थपिएको पाइएमा कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको छ।
सडक सुरक्षाका लागि आवश्यक स्थानमा ट्राफिक संकेत, सुरक्षा सामग्री तथा अन्य पूर्वाधार निर्माण गर्ने निर्णयसमेत बैठकले गरेको छ। त्यस्तै, दुर्घटना न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि, अभिमुखीकरण तथा प्रचारप्रसारका कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयलाई दिइएको छ।
अन्तरप्रदेश सडक सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन बागमती र मधेस प्रदेशबीच समन्वय बैठक आयोजना गर्ने निर्णयसमेत गरिएको छ।
बैठकमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसी, प्रदेशसभा सदस्यहरू एका लाल श्रेष्ठ, प्रेमभक्त महर्जन र रघुनाथ महर्जन, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा। देवराज रोका, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीलगायत प्रदेश तथा जिल्लास्थित विभिन्न कार्यालयका प्रमुखहरूको सहभागिता थियो।
बैठकले निर्णय कार्यान्वयनलाई प्रभावकारी बनाउन सम्बन्धित प्रदेश मन्त्रालयका सचिवहरूलाई जिम्मेवार बनाउँदै प्रत्येक १५ दिनमा प्रगति विवरण पेस गर्नसमेत निर्देशन दिएको छ।







