थाहामा तेस्रो वर्ष हुने तीन दिने बज्रबाराही जात्रा सुरु

हेटौँडा, मकवानपुरको थाहा नगरपालिका-६ टिष्टुङ बज्रबाराहीमा हरेक तीन वर्षमा तीन दिनसम्म लाग्ने बज्रबाराही जात्रा शनिबारदेखि सुरु भएको छ । चण्डीपूर्णिमा अर्थात वैशाख पूर्णिमाको दिनदेखि बज्रबाराहीको जात्रा सुरु हुन्छ ।

ADVERTISEMENT

जात्राको पहिलो दिन गाँउबाट देवताहरु ल्याएर टिष्टुङस्थित बज्रबाराही पीठमा राख्ने गरिन्छ । पूर्णिमापछिको शनिबारका दिन यहाँका बस्तीका प्रत्येक घरबाट बलीसहित पूजा ल्याएर दिनभर पूजा गर्ने गरिन्छ । तेस्रो दिन गाँउबाट ल्याइएका देवताहरु फर्काइन्छ । उपत्यकालाई रक्षा गर्ने चार बाराहीमध्ये एक ललितपुरस्थित बज्रबाराहीको मन्दिर नेपाल सम्वत ७८६ मा निवास मल्लले बनाउन लगाएको इतिहास छ । टिष्टुङमा बज्रबाराहीलाई ललितपुरको बज्रबाराहीको आमाको रुपमा लिने गरिन्छ ।

यहाँ प्रत्येक तीन वर्षको अन्तरालमा वैशाख पूर्णिमाको पछिको शनिबार पारेर जात्राको सुरुवात हुने परम्परा छ । थाहा नगरपालिका ६ नम्बर वडा कार्यालय र स्थानीय गुठी व्यवस्थापन समितिले जात्राको व्यवस्थापन गरिरहेको वडाध्यक्ष राजनभक्त श्रेष्ठले बताए ।

तान्त्रिक विधि अनुसार पूजाआजा गर्नुका साथै टिस्टुङ क्षेत्रको इस्ट देवता नै बज्रबाराही भएकाले आराधाना गर्दा मात्र मानव कल्याण हुने जनविश्वास छ । गुठीको नाममा रहेको २ सय ४ रोपनी जग्गाको आयस्रोतले जात्रा र गुठी संचालन हुँदै आएको छ । जात्रामा यस क्षेत्रका विभिन्न जातिहरु आ–आफ्नै भेषभुषा, संस्कृति र बाजागाजाका साथ सहभागिता जनाउँछन् । जात्रा संचालन र ब्यवस्थापनका लागि १३ वटा गुठीहरु समेत संचालनमा छन् । एउटा गुठी नेपाल सरकारका नाममा समेत संचालित छन् ।
गणेश गुठी, कुमारी गुठी, बाराही गुठी, ईन्द्रायणी गुठी, भैरव गुठी, बाजा ब्यवस्थापन गुठीलगायतका गुठी छन्। जात्राका बेलामा बाराही पीठमा बली दिनका लागि पहिले नै दुई वटा राँगा खुलारुपमा छाडिएको हुन्छ । यसरी छाडिएको राँगालाई कुट्न, लखेट्न र थुन्न हुँदैन भन्ने मान्यता छ । छाडिएका राँगाहरु जहाँ पुगे पनि स्थानीयले पिठोलगायतका खानेकुरा खुवाएर पठाउने गर्छन् ।

जात्रा सुरु हुनुपूर्व पुजारीहरुले आइतबारदेखि शुक्रबारसम्म मध्यरात मन्दिरमा (पीठ)मा गएर पूजा गर्छन् । जसलाई ‘चा’पूजा भनिन्छ । ‘चा’ भनेको नेवारी भाषामा रात हो । ‘यसरी ‘चा पूजा अर्थात् रात पूजा गर्न जानेहरु दुबै जना घर नफर्केसम्म एकअर्कासँग बोल्न हुँदैन, पछाडि फर्केर पनि हेर्नु हुँदैन स्थानीयवासी महेश्वर महर्जनले भने, ‘त्यसको भोलिपल्ट देवीको पूजा गरिन्छ । तान्त्रिक विधीबाट क्षमा पूजा गरेपछि स्थानीय कर्माचार्यहरुमध्ये जसलाई देवता चढ्छ उसलाई नै खड्ग दिइन्छ । ऊ नै खस् द्यो बन्न पाउँछ । यसरी खस् द्यो चयन भएपछि उसले सेतो जामा र सेतो बेताली लगाएर खड्ग बोकी काम्दै बाहिर निस्कन्छन् ।’

Advertisement 5

जात्राको पहिलो दिनको मध्यरातमा विशेष पूजा गरिन्छ । यो पूजा गरेको हेर्नका लागि धेरै मान्छे राति नै उठेर मन्दिर जाने गर्छन् । यो पूजा अन्तर्गत सुरुमा देउला समुदायले ल्याएको पूजा गरिन्छ जसलाई सरकारी पूजाको रुपमा लिइन्छ । यो पूजामा सर्प, भ्यागुतो, हाँस, भेडा, किरा फट्याङग्रा, माछा, चरा, भाले, बोका र राँगालगायतको बली दिइन्छ ।

यसरी बली दिनका लागि हरेक जीवको भाले-पोथी जोडी नै पीठ (मन्दिर)मा लगिन्छ । भालेलाई बली दिइन्छ भने पोथीलाई मन्दिरस्थलमा छाडिन्छ । आइतबारको दिनलाई जात्राको मुख्य दिन मानिन्छ । यो दिन टाढाटाढाबाट दर्शनार्थी आउँछन् । जात्राको दोस्रो दिन बिहान झिसमिसेदेखि नै बली दिन सुरु हुन्छ । पञ्चबली दिनेहरुले पनि यही दिन पूजा गर्छन् ।
पञ्चबलीमा बोका, हाँस, भाले, राँगा र भेडाको बली दिइन्छ । यही दिन तीन वर्षदेखि भाकल राखेकाहरुले समेत बली पूजा गर्छन् । मन्दिरमा पशुपन्छी मात्रै होइन फलफूल पनि उत्तिकै चढाईन्छ । पूजा सकिएपछि अघिल्लो राति बली दिइएका दुई वटा राँगाका मुटु र बोकाको टाउको यज्ञमा होमिन्छ । विशेष मन्त्रोच्चारण गर्दै यज्ञ गर्ने चलन छ । यो यज्ञ पश्चात बाराहीको शक्ति पीठमा बली दिइदैन ।


जात्राको तेस्रो अर्थात अन्तिम दिन सर्वप्रथम पिठमा बली दिई छाडिएका जीवहरुको टाउको संकलन गरिन्छ । त्यसपछि देवतालाई फूलपातीले छोप्ने र त्यसमाथि मासु र भातले छोप्ने चलन छ । त्यही मासु र भातलाई देवता फर्काउनुअघि प्रसादका रुपमा बाँडिन्छ । प्रसाद लिनेहरुको भीड हुने भएकाले पुजारीहरुले माथिमाथि र टाढाटाढासम्म फयाँकेर प्रसाद दिने गर्दछन् । धार्मिक आस्था र मान्यता अनुसार यो प्रसाद खाँदा स्वस्थ्य हुने र रोगव्याधि निको हुने विश्वास छ । यो दिनमा खुवाइने जाँड पहिले देउला समुदायले खान्छन् र त्यहीँ जुठो जाँड देवताहरुलाई खुवाइने स्थानीय प्रमोद जोशी बताउँछन् । उनले भने, ‘त्यो जाँड पछि अन्य सर्वसाधारणलाई पनि बाड्ने चलन छ ।’


त्यसो त जात्रा अवधिभर विभिन्न गुठीमा प्रसादस्वरुप जाँड खुवाउने चलन छ । पूजाआजाको काम सकिएपछि बज्रबाराही देवीको खटमा धामी र बज्रबाराही अजिमाको प्रतीकका रुपमा देउला समुदायका चन्द्रबहादुर देउला बस्छन् । खटलाई उठाएर तीन पटक पीठमा परिक्रमा गराएर स देउलाटोलमा नै ल्याएर जात्रा समापन गरिन्छ। वडा कार्यालय र गुठीको करिब १० लाख रुपैयाँ खर्च हुने उक्त जात्रामा जात्रामा हजारौं श्रद्धालुको सहभागिता हुने गरेको छ । (स्रोतः इकान्तिपुर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *