हेटौँडा, मकवानपुर जिल्लाका कम्प्युटर विज्ञान अध्यापनरत शिक्षकहरूका लागि कम्प्युटर विज्ञान समाज मकवानपुरले १ दिने कार्यशाला गोष्ठी आयोजना गरेको छ । दिनेश उप्रेतीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यशालामा भुटनदेवी माविका प्रअ सूर्यप्रसाद न्यौपानेले कार्यक्रमले शिक्षकहरूका लागि विषयवस्तु अध्ययन, प्रश्न निर्माण र आन्तरिक तथा प्रयोगात्मक अङ्क निर्धारणसम्बन्धी सहजीकरण गर्नु भएको थियो । पाठ्यक्रम विकास केन्द्रका विषयविज्ञ तथा प्रशिक्षकद्वय नवीनकृष्ण मास्के र विमल थापाले प्रशिक्षण गर्नुभएको कार्यक्रममा २२ विद्यालयका कम्प्युटर ३० शिक्षकहरूको उपस्थित रह्यो । प्रशिक्षक मास्केले विद्यार्थीहरू शिक्षकभन्दा अघिअघि गइरहेको सन्दर्भमा शिक्षकहरूलाई चुनौति र अवसर दुबै रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि विनोद सुवेदीले तालिमलाई अवसरको रूपमा लिँदै आफू समेत अनुशासित हुँदै सिकाउने अभियानमा कटिबद्ध भएर लाग्न शुभकामना व्यक्त गर्नुभयो । अध्यक्ष उप्रेतीले कार्यक्रममा स्वागत मन्तव्य राख्दै शिक्षकहरूका लागि शैक्षिक सत्रको सुरूवातमैँ कम्प्युटर विज्ञान अध्यापनमा आइपर्ने समस्या पहिचान र समाधानका लागि सहजीकरण गर्नु नै कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो ।
अन्य विषयगत कार्यशाला तथा तालिमहरू निरन्तर भइरहेको सन्दर्भमा कम्प्युटर विषयका तालिमहरू कम देखिएको तर अध्यापनरत शिक्षकहरूमध्ये युवाहरूको बाहुल्यता रहेकोले सिकाइका लागि आवश्यक ज्ञान र सिकाइहरूबारे कम्प्युटर विषयका शिक्षकहरू आआफ्नो बलबुँतामैँ पनि निरन्तर अपडेट भइरहेको भुटनदेवी माविका प्रअ सूर्यप्रसाद न्यौपानेले बताउनुभयो ।
कार्यक्रममा एनएनटिए अध्यक्ष मुकुन्द न्यौपाने र हेटौँडा मोडर्न माविका प्रअ सुदीप बर्तौलाको आतिथ्य रहेको सो कार्यक्रममा सहभागीमध्ये डायमण्ड रुपाखेति र महेश पोदारलगायतका शिक्षकले स्थानीय तहले लागू गराएको स्थानीय विषयले कक्षा ६(८ मा कम्प्युटर विज्ञानलाई विस्थापन गर्ने अवस्था रहेको बताउनुभयो ।
आयोजित प्रबोधिकरण कार्यशालालाई सनराइज पब्लिकेसन प्रालिले प्रायोजन गरेको हो । जनप्रिय माविका शिक्षक संप्रस पौडेलमार्फत् सहजीकरण गरिएको कार्यक्रम भुटनदेवी माध्यमिक विद्यालयमा सञ्चालन भएको हो ।






