हेटौंडा, मनहरी गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा विद्यार्थी मूल्याङ्कन तथा सामाजिक परीक्षणमा सुधार ल्याउन दुई दिने तालिम आयोजना गरिएको छ । गाउँपालिका शिक्षा शाखाले पशुपतिनाथ माविमा आयोजना गरेको तालिममा ३२ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक सहभागी छन् ।
मंगलबारदेखि सुरु भएको तालिम मनहरी गाउँपालिका सामाजिक विकास संयोजक अनन्तप्रकाश अर्यालको सभाध्यक्षता र शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।
गाउँपालिका स्रोतशिक्षक बिदुर थापाले सहजीकरण गरेको उद्घाटन सत्रमा मनहरी गाउँपालिका शिक्षा प्रमुख प्रदीप पराजुली, पशुपतिनाथ मावि ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतम, प्रधानाध्यापक भानुभक्त आचार्यलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
ईकाई प्रमुख गौतमले विद्यालयमा गर्नुपर्ने सामाजिक परीक्षणका बिभिन्न पक्षका बारेमा सहजीकरण गरेका थिए । बुधबार विद्यार्थी मूल्यांकनका बारेमा सहजीकरण गरिने बताइएको छ ।