हेटौँडा, हेटौँडा–५ स्थित जीएस निकेतन माध्यमिक विद्यालयले वि.सं. २०८२ सालको एसईई परीक्षामा ४ जिपिए हासिल गर्ने तीन जना विद्यार्थीलाई जनही ५० हजार रुपैयाँ नगदसहित प्रमाणपत्रले सम्मान गरेको छ।
आज विद्यालयले एक कार्यक्रमबीच एसईई परीक्षामा ४ जिपिए ल्याउने विद्यार्थी, उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थी तथा विषयगत शिक्षकहरूलाई सम्मान गरेको हो। ज्ञानदीप बहुउद्देश्यीय सहकारीद्वारा सञ्चालित विद्यालयबाट एलेक्स घिमिरे, रौनक भण्डारी र समीक्षा यादवले ४ जिपिए हासिल गरेका हुन्।
यस वर्ष विद्यालयबाट एसईई परीक्षामा सहभागी १ सय २२ जना विद्यार्थिमध्ये ५१ जनाले ३.६० देखि ४.०० जिपिए, ५१ जनाले ३.२० देखि ३.५९ जिपिए तथा १७ जनाले २.८१ देखि ३.१९ जिपिए प्राप्त गरेका छन्। ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक समितिका उपाध्यक्ष राजेश घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड, हेटौँडाका प्रमुख बद्रीबहादुर पाठक प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ईश्वरप्रसाद लामिछानेले विद्यालयको शैक्षिक नतिजालाई अझ सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे। उनले विद्यालय तीन पटक जिल्ला प्रथम भएको उल्लेख गर्दै आगामी वर्ष सतप्रतिशत नतिजा हासिल गर्ने लक्ष्य रहेको बताए। विद्यालयले वि.सं. २०८३ सालदेखि कक्षा ११ मा वाणिज्य संकाय सञ्चालन गर्ने जानकारी पनि दिएको छ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रमिला सापकोटा, पीटीए अध्यक्ष प्रकाश बानियाँलगायतको आतिथ्य रहेको थियो ।








