हेटौँडा, मकवानपुर प्रहरीले फर्जी बिल प्रयोग गरी अवैध रूपमा ल्याइएका ५६० वटा बोइलर कुखुरा नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जेठ ५ गते साँझ करिब ६ बजे प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोस्टमा सवारी जाँच गर्ने क्रममा बाराबाट कैलालीको टिकापुरतर्फ जाँदै गरेको ना ३ च ७५६३ नम्बरको बोलेरो पिकअपलाई रोकी जाँच गरेको थियो ।
जाँचका क्रममा उक्त गाडीमा फर्जी बिल बनाई अवैध रूपमा ल्याइएका ५६० वटा बोइलर कुखुरा फेला परेपछि प्रहरीले गाडीसहित तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सुस्ता गाउँपालिका–३ निवासी २३ वर्षीय सोहित महत्तो, चितवन खैरहनी नगरपालिका–५ निवासी २१ वर्षीय नसिब चौधरी र २५ वर्षीय सुनिल चौधरी रहेका छन् ।
प्रहरीले नियन्त्रणमा लिइएका कुखुरा, सवारी साधन तथा व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि पशु सेवा केन्द्र हेटौँडा, मकवानपुरमा पठाइएको जनाएको छ ।








