लागूऔषध चिन्ताको विषय : पौडेल

हेटौंडा, नेकपा एमालेका नेता एवम् संविधानसभा सदस्य अनन्त पौडेलले पछिल्लो समय लागूऔषध दुव्र्यसन चिन्ताको बिषय बनेको बताएका छन् । हेटौंडा जेसीजले ९ नम्बर वडास्थित प्रगति माविमा आयोजना गरेको लागूऔषध दुव्र्यसन नियन्त्रणमा सचेत विद्यार्थीको भूमिका बिषयक वक्तृत्वकला कार्यक्रमको प्रमुख अतिथि रहेका उनले मकवानपुरमा लागूऔषधको प्रयोग, उत्पादन र ओसारपसार डरलाग्दोसँग विकास भैरहेको भन्दै चिन्ता व्यक्त गरे ।

ADVERTISEMENT

६० प्रतिशत अपराधका घटना लागूऔषधकै कारण हुने गरेको भन्दै उनले यस बिषयमा सबै एक भएर लाग्नुपर्ने धारणा राखे । पौडेलले लागूऔषध सम्बन्धी ऐन अपुरो रहेको भन्दै अब त्यसलाई परिमार्जन गर्न जरुरी रहेको औंल्याए । ‘लागूऔषध प्रत्येकको परिवारमा डरलाग्दो रुपमा प्रवेश भएको छ’, पौडेलले भने, ‘अब आम मानिसको चेतना परवर्तन हुन जरुरी छ । लागूऔषधमुक्त समाज निर्माणमा सबैले सोच्न जरुरी छ ।’

कार्यक्रम संयोजक आतिस दाहालको संयोजकत्व एवम् हेटौंडा जेसीजका अध्यक्ष श्रवणकुमार बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप पराजुली, हेटौंडा जेसीजका पूर्व अध्यक्ष कविन सांगामी र दीपकराज मिश्र, चैनपुर जेसीज प्रस्तावितका अध्यक्ष गणेशदर्पण अधिकारी, सिआन पुनस्र्थापना केन्द्रका सञ्चालक सौजन डिसी, हेटौंडा जेसीजका कार्यकारिणी उपाध्यक्ष अमृत बर्तौलालगायतले लागूऔषध दुव्र्यसनको बिषयमा चिन्ता व्यक्त गर्दै नियन्त्रण अभियान नै सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा कवि स्वस्तिका वानियाँको लागूऔषध सम्बन्धि कविता वाचन गरेकी थिइन् । कार्यक्रममा हेटौंडा जेसीजका पूर्व अध्यक्ष कुशकुमार रिजाल, कृष्णबहादुर कार्की लगायतको आतिथ्यता रहेको थियो ।

वक्तृत्वकलामा बिष्ट अब्बल
वक्तृत्वकलामा रिमा बिष्ट प्रथम भएकी छिन् । अन्य १० प्रतिस्पर्धीलाई उछिन्दै विष्ट प्रथम हुँदा लिटिलराज पौडेल द्वितीय र प्रकृति दाहाल तृत्तीय भएका छन् ।

Advertisement 5
वक्तृत्वकलामा बिजयी भएकाहरु ।

प्रतियोगितामा ११ विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजयीहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । कार्यक्रममा हेटौंडा जेसीजका पूर्व अध्यक्ष कुशकुमार रिजाल र दीपकराज मिश्र, साहित्यकार अनिता न्यौपाने तथा विद्यालयका सहप्रधानाध्यापक माधवप्रसाद गौतमले निर्णायकको भूमिका निर्वाह गरेका थिए । हेटौंडा जेसीजले दैनिक भिन्दाभिन्दै विद्यालयमा पुगेर लागूऔषध नियन्त्रणको बिषयमा वक्तृत्वकलाको आयोजना गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *