हेटौँडा, फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक मतपत्र तथा निर्वाचन सामग्री हेटौँडा आइपुगेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा मकवानपुरमा तयारी तीव्र पारिएको छ भने समग्र व्यवस्थापन अन्तिम चरणमा पुगेको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले निर्वाचन सम्पन्न गर्न आवश्यक सम्पूर्ण सामग्री सुरक्षित रूपमा जिल्लामा भित्रिएको जानकारी दिएका छन् । “निर्वाचनका लागि आवश्यक मतपत्र, मतदान पेटिका, छाप, मसी, फारामलगायत सम्पूर्ण सामग्री जिल्लामा आइसकेका छन्,” उनले भने, “अब ती सामग्री व्यवस्थित रूपमा सम्बन्धित मतदान केन्द्रहरूमा पठाउने तयारी भइरहेको छ ।”
उनका अनुसार अबको मुख्य चरण मतदान अधिकृत तथा सहायक अधिकृतलाई सम्बन्धित मतदान केन्द्रमा खटाउने हो । फागुन १८ गतेदेखि उनीहरू आ–आफ्नो केन्द्रमा पुग्ने कार्यतालिका तय गरिएको छ । प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार फागुन १८ गतेदेखि मतदान अधिकृतहरूले केन्द्रमा पुगेर मतदाता नामावली प्रकाशन गर्ने, आवश्यक सूचना टाँस गर्ने तथा मतदान स्थलको अन्तिम तयारी गर्नेछन् । निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन प्रशासनले सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । मतदान केन्द्रहरूको भौतिक अवस्था, पहुँच मार्ग, सञ्चार सुविधा तथा संवेदनशीलताको मूल्याङ्कन गरिसकिएको प्रशासनको भनाइ छ ।
“निर्वाचन सफल बनाउन प्रशासन, सुरक्षा निकाय र निर्वाचन कार्यालयबीच निरन्तर समन्वय भइरहेको छ,” अधिकारीले भने, “मतदान केन्द्रमा आवश्यक पूर्वाधार, कर्मचारी तथा सुरक्षा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।” मतदान केन्द्रमा खटिने कर्मचारीहरूको तालिम सम्पन्न हुने चरणमा छ भने अब उनीहरूलाई आवश्यक सामग्रीसहित केन्द्रमा पठाइने तयारी भइरहेको छ । प्रमुख जिल्ला अधिकारी अधिकारीले निर्वाचन अवधिभर शान्ति–सुरक्षा कायम राख्न चारै सुरक्षा निकायबीच समन्वय गरेर विशेष सुरक्षा योजना तयार गरिएको स्पष्ट पारे । “मतदाताले निर्भय वातावरणमा मतदान गर्न सक्ने अवस्था सुनिश्चित गरिनेछ,” उनले भने ।
निर्वाचन मिति नजिकिँदै जाँदा जिल्लामा चुनावी गतिविधि बढ्दै गएका छन् । प्रशासनले सबै मतदातालाई निर्धक्क र उत्साहका साथ मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।






