हेटौंडा, ताप्लेजुङ निवासी पत्रकार तथा लेखक भानु बोखिमको कृति ‘गोधूलि गीत’ उपन्यास हेटौंडामा विमर्श भएको छ । दश वर्षे सशस्त्र युद्धको पृष्ठभूमिमा लेखिएको आख्यानकार भानु बोखिमको दोस्रो कृति गोधूलि गीत उपन्यासको हेटौंडामा विमर्श भएको हो ।
साहित्य सङ्गम मकवानपुरको आयोजनामा भएको कार्यक्रममा देवराज तिवारी र सुन्दर दाहालले उपन्यासको समिक्षा गरेका थिए । जनयुद्धको उद्गम थलो रोल्पालाई आधार बनाएर लेखिएको पुस्तक जनयुद्धको विषयवस्तुमा केन्द्रीत रहेको समिक्षकद्वयले बताए । जनयुद्धमा विभिन्न घटना घटेको भएता पनि लेखकले त्यसप्रति ध्यान नदिएको भन्दै समिक्षक सुन्दर दाहालले लेखकप्रति गुनासो पोखे । यसैगरी अर्का समिक्षक देवराज तिवारीले लेखकले जनयुद्धको विषयवस्तुलाई फरक कोणबाट प्रस्तुत गरेको बताए ।
रोल्पाको युद्धलाई मुख्य उत्थान गरी लेखकले ६२ शीर्षक उपशीर्षक दिई विषयवस्तुलाई तीन चरणमा प्रस्तुती दिइएको उनले बताए । साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीवी बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष सानु खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कलम प्रकाशनले प्रकाशन गरेको उपन्यासको मूल्य ६९५ रहेको छ । २०७४ सालमा लेखक भानु बोखिमले रुमानी साँझ कथा संग्रह प्रकाशित गरेका थिए ।







