हेटौंडा, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीस्थित टेकरको पहिरोमा ज्यान गुमाएका मकवानपुरका तीनसहित ६ जना खेलाडीको परिवारलाई राहत वितरण गरिएको छ । नेपाल सरकारको तर्फबाट मकवानपुरका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद्् व्यवस्थापन समिति मकवानपुरका संयोजक तीर्थराज चिलुवालले मकवानपुरका मृतकको घरमै पुगेर राहत उपलब्ध गराएका हुन् भने बाहिरी जिल्लाका खेलाडीको परिवारको खातामा रकम पठाइएको हो ।
प्रजिअ चिलुवालले हेटौंडा उपमहानगरपालिका–१२ का अनुपम घलान र मकवानपुरगढी गाउँपालिका–४ का साइमन योञ्जनका परिवारलाई राहत हस्तान्तरण गरेका हुन् । प्रजिअ चिलुवालले मृतक अनुपमका बाबु ललित घलान र साइमनका बुबा हेमबहादुर योञ्जनलाई जनही २–२ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
यस्तै, उक्त पहिरोमा परी मृत्यु भएका सिस्नेरीका दिवस बानियाँको परिवारलाई पनि आजै शुक्रबार सिस्नेरीस्थित घरमा पुगेर राहत रकम हस्तान्तरण गर्ने प्रजिअ चिलुवालले बताए । गत असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण मकवानपुरको सिस्नेरीस्थित टेकरमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको थियो ।
मृत्यु हुने अन्य खेलाडीहरुमा बाराको निजगढका बिकल रेग्मी, सर्लाहीका आदित्य बलम्पाखी र काठमाडौंका प्रियान्स आचार्य रहेका छन् । मृतक ६ जना नै इन्द्रसरोवर–३, टेकरस्थित वत्सलादेवी माविको एन्फा एकेडेमीका विद्यार्थी हुन् ।






