हेटौंडा, हेटौंडा १९ नेवारपानीबाट १०७ किलो ५० ग्राम अवैध लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका वडा नम्बर २ पालुङका २४ वर्षीय सुजन तामाङ रहेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १९ नेवारपानीमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बा १२ च २८८५ नम्बरको बोलेरो गाडी चेकिङको क्रममा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय नेवारपानीको टोलीले बोलेरोको ढालाभित्र लुकाएर ल्याएको अवस्थाको गाँजासहित चालक तामाङलाई नियन्त्रणमा लिएको हो । गाँजासहित पक्राउ परेका तामाङलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।







