हेटौँडा, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौँडा–११, मकवानपुरको आयोजनामा सम्पन्न हस्तलेखन प्रतियोगितामा जेम्स इङ्लिस सेकेण्डरी विद्यालयकी उमङ्ग विक प्रथम भएकी छिन्।
प्रतियोगितामा हेटौँडा एकेडेमी आवासीय विद्यालयकी मिताली बस्नेत द्वितीय तथा जेम्स इङ्लिस सेकेण्डरी विद्यालयकी जिनुरा आले मगर तृतीय भएकी छन्। विजेता विद्यार्थीहरूलाई क्रमशः नगद ५ हजार, ३ हजार ५ सय र १ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा कृष्णप्रसाद खनाल, रमा आचार्य तथा दीपेन्द्रकुमार पाठक (पुष्प पराग) ले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
हेटौँडा उपमहानगरपालिका–११ वडा कार्यालयको स्वीकृत बजेटअन्तर्गत वडा नं. ११ भित्रका विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी शैक्षिक प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गरिएको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष देवकुमार श्रेष्ठले बताउनु भयो ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौँडा–११ को आयोजनामा तथा वडा कार्यालयको आर्थिक सहयोगमा यसअघि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भइसकेको उहाँले जानकारी दिनु भयो । शैक्षिक प्रतियोगितात्मक कार्यक्रमअन्तर्गत जेठ १३ गते शंकर ज्योति माध्यमिक विद्यालयमा चित्रकला प्रतियोगिता तथा जेठ १४ गते वक्तृत्वकला प्रतियोगिता आयोजना हुनेछ ।







