हेटौँडा, हेटौँडा उपमहानगरपालिका–९ स्थित लामसुरे आधारभूत स्वास्थ्य केन्द्रमा गर्भवती महिलालक्षित निःशुल्क भिडियो एक्स–रे सेवा सुरु गरिएको छ। गर्भवती महिला तथा गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाबारे समयमै जानकारी लिन सहज बनाउने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याइएको वडा अध्यक्ष सुकराम केसीले जानकारी दिनुभयो।
उहाँका अनुसार वडा कार्यालयको संयोजन, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोग तथा बर्जर पेन्ट्स प्रालिको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत प्राप्त पोर्टेबल भिडियो एक्स–रे मेसिनमार्फत सेवा प्रारम्भ गरिएको हो। वडाभित्रका गर्भवती महिलालाई लक्षित गरी रेडियोलोजिस्ट ९विशेषज्ञ चिकित्सक० को उपस्थितिमा आजदेखि नियमित रूपमा सेवा सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ।
सेवा सुरु भएसँगै सामान्य भिडियो एक्स–रे परीक्षणका लागि अस्पताल वा निजी क्लिनिक धाउनुपर्ने तथा अतिरिक्त आर्थिक भार व्यहोर्नुपर्ने स्थानीय गर्भवती महिलाको बाध्यता हट्ने अपेक्षा गरिएको छ। गर्भमा रहेका शिशुको अवस्था नियमित रूपमा निगरानी गर्न तथा सम्भावित स्वास्थ्य समस्याको समयमै पहिचान गरी आवश्यक उपचार प्रक्रिया अघि बढाउन सेवा प्रभावकारी हुने विश्वास गरिएको छ।
वडा अध्यक्ष केसीले गर्भवती महिलाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै वडाभित्रै निःशुल्क भिडियो एक्स–रे सेवा सञ्चालन गरिएको बताउनुभयो। उहाँले पोर्टेबल भिडियो एक्स–रे मेसिनमार्फत स्वास्थ्यकर्मीहरूले स्वास्थ्य केन्द्रबाटै सेवा दिन थालेको जानकारी दिनुभयो।
स्वास्थ्य केन्द्रबाट गर्भवती महिलालक्षित सेवा मात्र नभई दीर्घरोगीहरूका लागि समेत विशेष सुविधा उपलब्ध गराइएको छ। वडा कार्यालयका अनुसार विभिन्न दीर्घ तथा जटिल रोगबाट पीडित बिरामीलाई स्वास्थ्य केन्द्रमार्फत नियमित रूपमा निःशुल्क औषधि वितरणसमेत भइरहेको छ।
यसैबीच, आगामी आर्थिक वर्षदेखि महिनामा तीन दिन विशेषज्ञ चिकित्सकसहितको विशेष स्वास्थ्य सेवा सञ्चालन गर्ने योजना रहेको वडा अध्यक्ष केसीले बताउनुभयो। स्वास्थ्य सेवालाई थप प्रभावकारी, पहुँचयोग्य र नागरिकमैत्री बनाउने उद्देश्यले रेडियोलोजिस्टसहित विभिन्न विशेषज्ञ चिकित्सकको उपस्थितिमा स्वास्थ्य शिविर तथा परामर्श सेवा सञ्चालन गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो।







