हेटौँडा सिटी कलेजले ४० जना विद्यार्थीलाई बीबीएस संकायमा निःशुल्क पढाउने

हेटौँडा, हेटौँडा–५ स्थित हेटौँडा सिटी कलेजले यस शैक्षिक सत्रदेखि स्नातक तहको ‘बीबीएस’ संकायमा ४० जना विद्यार्थीलाई निःशुल्क अध्ययन गराउने भएको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत कलेजले त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित चारवर्षे बीबीएस कार्यक्रम प्रथम वर्षदेखि चौथो वर्षसम्म निःशुल्क अध्ययन गर्ने अवसर उपलब्ध गराइने जानकारी दिएको हो।

ADVERTISEMENT

पत्रकार सम्मेलनमा कलेजका प्रमुख सुमन्त सिलवालले बीबीएस कार्यक्रमअन्तर्गत ४० जना विद्यार्थीलाई कुनै पनि भेदभाव नगरी निःशुल्क अध्ययनको अवसर प्रदान गरिने बताए। ‘कसैलाई काखा र कसैलाई पाखा गर्ने छैनौँ। ४० जनाको कोटामा सबैभन्दा पहिले भर्ना हुने विद्यार्थीले निःशुल्क अध्ययन गर्न पाउनेछन्,’ उनले भने।

कलेजका प्राचार्य श्रीबहादुर कार्कीले आर्थिक तथा अन्य विविध कारणले उच्च शिक्षाबाट वञ्चित भएका तर अध्ययन गर्ने इच्छा भएका विद्यार्थीलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिएको बताए। उनका अनुसार कार्यक्रमअन्तर्गत छनोट भएका विद्यार्थीलाई निःशुल्क लेखा तालिम, कम्प्युटर प्रशिक्षणलगायत विभिन्न सीपमूलक तालिम प्रदान गरिनेछ। साथै अध्ययन पूरा गरेपछि व्यवसाय सञ्चालन तथा रोजगारी सिर्जना गर्न सक्षम बनाउने वातावरण तयार गरिने कलेजको योजना रहेको छ।

ADVERTISEMENT

कक्षा–१२ उत्तीर्ण गरी आवश्यक जीपीए प्राप्त गरेका विद्यार्थीलाई भर्ना गरिने र अध्ययनसँगै सीप विकासमा समेत विशेष जोड दिइने प्राचार्य कार्कीले जानकारी दिए। उनले त्रिभुवन विश्वविद्यालयको नियमअनुसार परीक्षा फाराम तथा अनिवार्य शुल्कबाहेक अन्य कुनै शुल्क विद्यार्थीले तिर्नु नपर्ने स्पष्ट पारे। विद्यार्थीलाई शैक्षिक रूपमा थप सक्षम बनाउन कलेजले तयारी कक्षासमेत सञ्चालन गर्ने जनाएको छ। वि.सं. २०७० मा जिल्लाकै पहिलो आइटी कलेजका रूपमा स्थापना भएको हेटौँडा सिटी कलेजमा हाल विद्यालय र कलेज तह गरी करिब एक हजार २०० विद्यार्थी अध्ययनरत छन्। बीबीएस संकायमा निःशुल्क अध्ययनलाई आगामी वर्ष पनि निरन्तरता दिने क्याम्पसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *