मकवानपुरलाई ‘धार्मिक द्वन्द्वमुक्त जिल्ला’ घोषणा गरिने

हेटौँडा, सर्वधर्म सद्भाव ऐक्यबद्धता महाअभियानले आगामी भदौ १७ गते मकवानपुरलाई ‘धार्मिक द्वन्द्वमुक्त जिल्ला’ घोषणा गर्ने भएको छ।
आइतबार हेटौँडामा आयोजित सबै धर्मका गुरु, धार्मिक अगुवा तथा नागरिक समाजका प्रतिनिधिहरूको भेलाले उक्त घोषणा गर्ने तयारी गरेको हो। भेलाबाट राजेश वाग्लेको अध्यक्षतामा सर्वधर्म सद्भाव ऐक्यबद्धता महाअभियान गठन गरिएको छ।

ADVERTISEMENT

महाअभियानका अध्यक्ष राजेश वाग्लेले मकवानपुरमा सबै धर्म र सम्प्रदायबीच आपसी सद्भाव कायम रहेको सन्देश प्रवाह गर्न ‘धार्मिक द्वन्द्वमुक्त जिल्ला’ घोषणा गर्न लागिएको बताए। उनका अनुसार अभियानलाई संस्थागत रूपमा अगाडि बढाउँदै मकवानपुरबाट अन्य जिल्लाहरूमा समेत विस्तार गर्ने योजना रहेको छ। “मकवानपुरमा कुनै पनि धार्मिक द्वन्द्व छैन र भविष्यमा पनि हुने छैन भन्ने सन्देश दिन यो अभियान सञ्चालन गरिएको हो,” वाग्लेले भने।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले महाअभियानले देशभर धार्मिक सद्भाव र एकताको सन्देश फैलाउन सफल हुनुपर्ने धारणा व्यक्त गरे। भेलामा विभिन्न धर्म तथा समुदायका प्रतिनिधिहरूले अभियानको सफलताको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा रामानुज गुरु, विश्व हिन्दू महासंघ मकवानपुरका अध्यक्ष उत्तम शर्मा ढकाल, मकवानपुर पादरी संघका अध्यक्ष सुवास गोपाली, लामागुरु शेराब दोर्जे लामा, मुस्लिम धर्मगुरु मोहम्मद अली, तैयस अन्सारी, ब्रह्मकुमारी राजयोग सेवा केन्द्रकी सहप्रमुख रेवती दिदी, डा। अर्पण पराजुली, सरस्वती थिङ, राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सचिव विशभ अधिकारी, प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तेज उप्रेती तथा नेकपा एमाले हेटौँडाका अध्यक्ष बोलबहादुर कार्कीलगायतको उपस्थिति रहेको थियो।

ADVERTISEMENT

भेलाले महाअभियानको उपाध्यक्षमा तुलसी गिरि, रमिला शर्मा आचार्य, तैयस अन्सारी र सरस्वती कुमारी थिङलाई चयन गरेको छ। त्यसैगरी महासचिवमा रामकुमार एलन, सचिवमा विजय बजगाईं, कोषाध्यक्षमा सीतादेवी भेटवाल तथा सहकोषाध्यक्षमा शेर मोहम्मद अन्सारी चयन भएका छन्। समितिका सदस्यहरूमा तुलसी नारायण तिमल्सिना, सफल अधिकारी, बोलबहादुर कार्की, आरती पाठक, शुभलक्ष्मी वाइबा र विवेक अधिकारी रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *