बागमतीबाट रास्वपाको प्रदेश अधिवेशन सुरु, नयाँ नेतृत्व चयन हुँदै

हेटौँडा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रदेशस्तरीय अधिवेशनको सुरुवात बागमती प्रदेशबाट गरेको छ। हेटौँडा उपमहानगरपालिका–१ स्थित हिमालयन दरबारमा मंगलबार सुरु भएको अधिवेशनको उद्घाटन पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले गर्नुभएको हो।

ADVERTISEMENT

यसअघि पार्टी सभापति रवि लामिछानेले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भए पनि उहाँ उपस्थित हुन नसकेपछि महामन्त्री बुर्लाकोटीले उद्घाटन गर्नुभएको हो। दुई दिनसम्म सञ्चालन हुने अधिवेशनले बागमती प्रदेश संगठनको नयाँ नेतृत्व चयन गर्नेछ।

रास्वपाका अनुसार अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाबाट छनोट भएका करिब १ हजार ५ सय प्रतिनिधि सहभागी छन्। रास्वपा बागमती प्रदेश सभापति तथा प्रतिनिधिसभा सदस्य डा। अच्युतम लामिछानेका अनुसार प्रदेशका १ हजार १२१ वडामध्ये करिब ९ सय वडामा अधिवेशन सम्पन्न भइसकेको छ भने ११९ वटै स्थानीय तहमा पार्टी संगठन विस्तार भइसकेको छ।

ADVERTISEMENT

पार्टीको विधानअनुसार बागमती प्रदेशमा ६५ सदस्यीय प्रदेश समिति गठन गरिनेछ। समितिमा सभापति, उपसभापति, महामन्त्री, दुई जना सहमहामन्त्री, कोषाध्यक्ष तथा प्रवक्ता रहने व्यवस्था छ। सहमहामन्त्रीमध्ये एक महिला र एक पुरुष अनिवार्य हुनुपर्ने प्रावधान रहेको छ।

अधिवेशनमा निर्वाचन आवश्यक परे दुई चरणमा मतदान हुने व्यवस्था गरिएको छ। पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको निर्वाचन हुनेछ भने निर्वाचित सदस्यहरूमध्येबाट दोस्रो चरणमा पदाधिकारी चयन गरिनेछ।

रास्वपाले बागमती प्रदेशका १३ जिल्लामध्ये १२ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ। सिन्धुपाल्चोक जिल्ला अधिवेशन भने स्थगित भएको छ। जिल्ला अधिवेशनबाट छनोट भएका प्रतिनिधिहरूले प्रदेश नेतृत्व चयनका लागि मतदान गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *