हेटौंडा, बागमती प्रदेशको राजधानी हेटौंडामा आजबाट प्रदेशस्तरीय युवा सम्मेलन सुरु भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले आजबाट दोस्रो संस्करणको प्रदेश युवा सम्मेलनको आयोजना गरेको हो । युवालाई सामाजिक र सार्वजनिक जीवनमा सहभागी गराउँदै नवप्रवर्तन र उद्यमशीलता विकास गर्ने उद्देश्यले आयोजना गरेको उक्त सम्मेलनको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरे ।
आज देखि सुरु भएको युवा सम्मेलन यही बैशाख ३० गते सम्म चल्ने छ । बागमती प्रदेशका १३ जिल्लाका युवाको सहभागितामा युवा सम्मेलनमा सहभागिता रहेको बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले बताए । सम्मेलनमा २ सय भन्दा बढी १६ वर्षदेखि ३० वर्ष उमेर समूहका युवाको सहभागिता छ । जिल्लाको सामुदायिक क्याम्पसका उत्कृष्ट विद्यार्थी, आदिवासी जनजाति, दलित, सीमान्तकृत समुदायलाई प्राथमिकता दिएर महिलालाई सहभागी गराइएको छ । जिल्लाहरूबाट युवा समितिमार्फत सहभागी सिफारिस गर्नेछ भने अनलाइनमार्फत युवा सहभागी गराइएको चौलागाईले बताए ।
सम्मेलनमा सहभागी समावेशी अवधारणामा छनोट गरिएको छ । प्रदेश युवा परिषद् बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाइँले युवालाई अवसर र प्रदेशको राजधानीसँग जोड्न सम्मेलनले भूमिका खेल्ने विश्वास व्यक्त गरे । प्रदेश सरकारले युवाको वृहत् हितका लागि सम्मेलन गरेको बताउँदै युवा प्रदेश नीतिका विषय, एआई, साइबर अपराध लगायतका विषयमा पनि छलफल गरिने उनले बताए ।
सम्मेलनमा कलाकार राजेश हमाल, पत्रकार टिकाराम यात्री र विश्वनाथ कोइराला लगायताको सहभागिता रहने आयोजकले जनाएको छ । सिर्जनशीलता र उद्यमशीलता प्रवर्द्धन बागमतीमा युवा सशक्तीकरण भन्ने मूल नाराका साथ हुने सम्मेलनमा सहभागीलाई पर्यटकीय क्षेत्रको भ्रमण समेत गराइने छ ।
सम्मेलनमा सहभागी युवालाई नै लक्षित गरी अन्तरक्रिया, बहस्, कार्यशाला, सहभागीबीच आपसी सञ्जाल निर्माण, प्रेरक सन्दर्भको व्याख्या र नेतृत्व तथा व्यक्तित्व विकाससँग सम्बन्धित क्रियाकलाप हुनेछ । परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, परिषद्को अध्यक्ष तथा सामाजिक विकास मन्त्री कुमारी मोक्तानसँगै प्रदेश सरकारका मन्त्रीहरुको उपस्थिति रहेको थियो ।







