हेटौँडा, हेटौँडा उपमहानगरपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने अभियानलाई तीव्रता दिएको छ। श्रम तथा रोजगार मन्त्रालयको ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ कार्यक्रमअन्तर्गत उपमहानगरपालिकाले श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कार्य अघि बढाएको हो।
मंगलबार आयोजित एक कार्यक्रममार्फत उपमहानगरपालिकाभित्र विभिन्न क्षेत्रमा कार्यरत श्रमिकलाई कोषमा आबद्ध गराउँदै परिचयपत्र वितरण गरिएको छ। उपमहानगरपालिकाको रोजगार सेवा केन्द्रमार्फत हालसम्म ६० जना श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्।
कोषमा आबद्ध श्रमिकले प्रतिमहिना १ हजार १५० रुपैयाँ र योगदानकर्ताले १ हजार ३५० रुपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ। उपमहानगरपालिकाले घरेलु कामदार, कृषि तथा निर्माण क्षेत्रमा कार्यरत श्रमिकलाई समेत सामाजिक सुरक्षा योजनामा समेट्न पहल गरिरहेको जनाएको छ।
उपमहानगरपालिकाले नगर प्रमुख मीनाकुमारी लामाको नेतृत्वमा कोषसम्बन्धी जानकारी तथा परिचयपत्र वितरण कार्यक्रम सञ्चालन गर्दै आगामी दिनमा थप श्रमिकलाई आबद्ध गरिने जनाएको छ। कोषमा आबद्ध हुँदा श्रमिकको भविष्य सुरक्षित हुने भएकाले अनौपचारिक क्षेत्रमा कार्यरत सबै श्रमिकलाई कार्यक्रममा सहभागी हुन र योजनामा आबद्ध हुन आग्रह गरिएको छ।
यसअघि सामाजिक सुरक्षा कोषमा आबद्ध हुने श्रमिकको संख्या न्यून रहेकामा पछिल्लो समय श्रमिकहरूको सहभागिता बढ्दै गएको उपमहानगरपालिकाले जनाएको छ।






