औषधि व्यवसायी संघ मकवानपुरले सप्ताहव्यापी कार्यक्रमसहित ५३औँ स्थापना दिवस मनाउने

हेटौँडा, नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा मकवानपुरले आफ्नो ५३औँ स्थापना दिवसको अवसरमा असार ६ गतेदेखि १० गतेसम्म विविध सामाजिक तथा सचेतनामूलक कार्यक्रम आयोजना गर्ने भएको छ। संघले स्थापना दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी सामाजिक उत्तरदायित्व तथा जनचेतना अभिवृद्धिसँग जोडेर सप्ताहव्यापी कार्यक्रम तय गरेको जनाएको छ।

ADVERTISEMENT

संघका अध्यक्ष विष्णु थापाका अनुसार स्थापना दिवसको अवसरमा मिर्गौला पीडित बिरामीलाई आर्थिक सहयोग प्रदान गर्ने, लागूपदार्थ दुर्व्यसनविरुद्ध प्रभातफेरी कार्यक्रम सञ्चालन गर्ने, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय पोसाक वितरण गर्ने, डेंगु रोग सम्बन्धी सचेतनामूलक तालिम आयोजना गर्ने तथा रक्तदान कार्यक्रम सञ्चालन गरिनेछ।

अध्यक्ष थापाले यस्ता कार्यक्रममार्फत औषधि व्यवसायीहरूको सामाजिक दायित्वलाई थप प्रभावकारी रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए। उनले स्थापना दिवसलाई भव्य, सभ्य तथा उपलब्धिमूलक बनाउन जिल्लाभरका सम्पूर्ण औषधि व्यवसायीलाई कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्।

नेपाल औषधि व्यवसायी संघ मकवानपुरले विगतदेखि नै स्वास्थ्य सचेतना, सामाजिक सेवा तथा व्यवसायिक हितसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस वर्षको स्थापना दिवसलाई पनि समाजप्रति उत्तरदायी र जनहितमुखी कार्यक्रममार्फत विशेष रूपमा मनाउने तयारी गरिएको संघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *