हेटौंडाको कार्यालयमा ताल्चा लगाएर शिव शिखर सहकारीका सञ्चालक फरार

हेटौंडा, हेटौंडामा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताले रकम फिर्ता मागेपछि सहकारीको कार्यालय नै बन्द भएको छ । बुटवल शाखामा बचतकर्ताले पैसा फिर्ता माग्न थालेपछि कार्यालय बन्द भएको हल्ला चलेसँगै हेटौंडा शाखामा पनि बचतकर्ताले रकम फिर्ता माग्न थालेका हुन् । बचतकर्ताको भिड लागेसँगै शिव शिखरको हेटौंडा शाखाले कार्यालय नै बन्द गरेर बेपत्ता भएका छन् ।

ADVERTISEMENT

बचतकर्ताहरु पैसा फिर्ता लिन भिड लाग्न थालेपछि गत आइतबारबाट हेटौंडा शाखा बन्द भएको हो । कार्यालय नै बन्द गरेर सञ्चालक तथा कर्मचारी नै वेपत्ता भएपछि हेटौंडाका बचतकर्ताहरु सशंकित भएका छन् । भक्तपुर केन्द्रीय कार्यालय रहेको यस सहकारीले सेवाग्राहीले बचत गरेको रकम फिर्ता गर्न नसेको बचतकर्ताको भनाई छ । बुधबार सहकारीको कार्यालयमा चल्ती खातामा रहेको रकम झिक्न आएका बचतकर्ताहरूले ढोकामा ताल्चा लागेको देखेपछि अन्य शेयर सदस्यहरूलाई बोलाएर आन्दोलन गरेका थिए । शिव शिखर सहकारी बन्द गरेर सञ्चालक फरार भएपछि बचतकर्ता, शेयर सदस्यले बुधबार सहकारीले सञ्चालन गरिरहेको गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको सटर तानेर बन्द गरिदिएका छन् ।

‘आइतबारदेखि बुधबारसम्म कार्यालयमा ताल्चा लागेको छ । सञ्चालक समितिका कोही पनि सम्पर्कमा छैनन् । अफिस पनि खुलेको छैन’, सहकारीका बचतकर्ता सत्यमान श्रेष्ठले भने, ‘गत विहीबार सहकारीमा पैसा लिन जाँदा पैसा छैन अन्य सहकारीसँग मर्ज हुने कोसिसमा छ भनेर आलटाल गरेर पठाएको थियो ।’ सहकारीमा आफ्नो १ लाख ७२ हजार रुपैयाँ बचतमा रहेको उनले जानकारी दिए । हेटौंडामा यो सहकारीको १६ औं शाखा हो । सहकारीका अध्यक्षदेखि कर्मचारीसम्मको फोन स्वीचअफ रहेको बचतकर्ता श्रेष्ठले बताए । ‘हामी यहाँ आएर फोन गरेको सबैको फोन स्वीचअफ छ । सबै भागिसके भन्ने सुन्नमा आएको छ । अब मार्ट बन्द गर्न हामी आएका हौं,’ उनले भने ।

ADVERTISEMENT

यस सहकारीमा हेटौंडाबासीको करोड भन्दा माथि बचत रहेको उनीहरुको भनाई छ । सहकारीले बचतकर्ताहरूको रकम कहाँ लगानी गरेको भनेर जवाफ नदिएको उनीहरूले बताए । ‘शिव शिखर बहुद्देश्यीय सहकारी संस्थामा मेरो तीनवटा खाता रहेको छ । खातामा भएको रकम खुलाउन चाहँदिन’, बचतकर्ता सुवास पुडासैनीले भने, ‘शाखा प्रमुखलाई केही दिन अघि प्रहरीले पक्राउ गरेको थियो । उहाँलाई प्रहरीले के सर्तमा छोड्यो त्यो हामीलाई थाहा भएन ।’ बचतकर्ताहरूले सहकारीमा लगानी गरेकाहरूको नामावली तयार पारी जिल्ला प्रहरी कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिका लगायत अन्य निकायलाई बुझाउनुका साथै संघर्ष समिति पनि निर्माण गर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *