हेटौँडा, हेटौँडा उपमहानगरपालिका–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलले विद्यार्थी नेतृत्व चयनका लागि पहिलोपटक अनलाइन प्रणालीमार्फत निर्वाचन सम्पन्न गरेको छ। बुधबार सम्पन्न निर्वाचनमा विद्यालय कप्तान पदमा रिजन जिम्बा ३३५ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। यस्तै, विद्यालय उपकप्तान पदमा अस्मिता थिङ २५४ मतसहित निर्वाचित हुनुभएको विद्यालयले जनाएको छ।
विद्यालयले यस वर्ष परम्परागत मतदान प्रक्रियालाई विस्थापित गर्दै पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत निर्वाचन सञ्चालन गरेको हो। विद्यालय परिसरमा ६ वटा बुथ स्थापना गरी ल्यापटपमार्फत अनलाइन भोटिङको व्यवस्था गरिएको थियो। निर्वाचनमा कुल ६९७ जना मतदाता रहेकोमा ६४७ जना विद्यार्थीले मतदान गरेका थिए। कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई उम्मेदवार तथा मतदाता बन्ने व्यवस्था गरिएको थियो। विद्यार्थीलाई लोकतान्त्रिक अभ्यासको व्यावहारिक ज्ञान प्रदान गर्दै नेतृत्व चयन प्रक्रियामा सहभागी गराउने उद्देश्यले निर्वाचन आयोजना गरिएको विद्यालयले जनाएको छ।
निर्वाचनमा १८ पदका लागि ७२ जनाको उम्मेदवारी परेको थियो। मतदान कार्यक्रम बुधबार बिहान ७ बजेदेखि सुरु भई दिउँसो १ बजे सम्पन्न भएको थियो। त्यस्तै, निर्वाचनबाट ४ वटा सदन तथा ४ वटा क्लबका कप्तान र उपकप्तानसमेत चयन भएका छन्। वातावरण क्लबको कप्तानमा आर्जन न्यौपाने र उपकप्तानमा आध्या कोइराला चयन हुनुभएको छ। फाइन आर्ट क्लबको कप्तानमा अन्जन यादव र उपकप्तानमा विदित न्यौपाने निर्वाचित हुनुभएको छ। साहित्य क्लबको कप्तानमा आश्रिका न्यौपाने र उपकप्तानमा प्रशंसा पौडेल चयन हुनुभएको छ।
खेलकुद क्लबको कप्तानमा रौनक सापकोटा तथा उपकप्तानमा सुविन खड्का चयन हुनुभएको छ। यस्तै, रातो सदनको कप्तानमा सन्दर्भ दाहाल र उपकप्तानमा करण अग्रवाल निर्वाचित हुनुभएको छ। पहेँलो सदनको कप्तानमा आरोन बानियाँ र उपकप्तानमा वाङचु थिङ चयन हुनुभएको छ। निलो सदनको कप्तानमा अध्ययन चौलागाई र उपकप्तानमा आश्विक भट्टराई तथा हरियो सदनको कप्तानमा सुहान्स मुक्तान र उपकप्तानमा युनिशा थिङ निर्वाचित हुनुभएको विद्यालयले जनाएको छ।
निर्वाचन प्रक्रियामा विद्यालयका शिक्षक तथा कर्मचारीले निर्वाचन आयोगको भूमिका निर्वाह गरेका थिए। विद्यालयका प्रिन्सिपल विनोद सुवेदीले यस प्रकारको निर्वाचनले विद्यार्थीमा लोकतान्त्रिक अभ्यासप्रतिको बुझाइ विकास गर्नुका साथै नेतृत्व क्षमता र व्यक्तित्व विकासमा सकारात्मक योगदान पुर्याउने बताउनुभयो।






