हेटौँडा, मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–७ मा भएको घरफोडी चोरी घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिबाट चोरीमा संलग्न भएको आशंकामा सुन, चाँदी, नगदसहित विभिन्न गरगहना बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार असार १० गते दिउँसो हेटौँडा–७ क्याम्पडाँडा नजिक रहेको सनगुड कोलोनीमा कृष्णप्रसाद गौतमको घरमा कोही नभएको मौका छोपी पूर्वतर्फको ढोका फुटाई चोरी गरिएको थियो। उक्त घटनामा करिब एक तोला सुन, २५ दशमलव ५ तोला चाँदी, १५ वटा चाँदीका सिक्का तथा चार लाख रुपैयाँ नगद चोरी भएको उजुरी प्रहरीमा परेको थियो।
घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले अनुसन्धानलाई तीव्र बनाउँदै विभिन्न प्राविधिक तथा सूचनाका आधारमा खोजतलास गरेको थियो। अनुसन्धानका क्रममा रामेछाप जिल्लाको हिमागंगा गाउँपालिका–४ स्थायी घर भई हाल हेटौँडा उपमहानगरपालिका–१५ फारलाइन क्षेत्रमा डेरा गरी बस्दै आएका २५ वर्षीय मनोज पुलामी मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले मगरको डेरामा खानतलासी गर्दा चोरीसँग सम्बन्धित हुन सक्ने चाँदीका सिक्का, नगद, सुनजस्तो देखिने पहेँलो धातुका विभिन्न गरगहना तथा अन्य सामग्री बरामद गरेको जनाएको छ। बरामद गरिएका सामानको पहिचान तथा चोरी भएको सामग्रीसँग मिलान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका मगर यसअघि जेन्जी आन्दोलनका क्रममा भीमफेदी कारागारबाट फरार भएका व्यक्ति रहेको तथ्य समेत खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उक्त विषयमा समेत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका मगरलाई बरामद सामानसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी चोरीसम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। घटनामा अन्य व्यक्तिको समेत संलग्नता रहेको वा नरहेको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।






