हेटौंडा, सडक विस्तार गर्ने क्रममा व्यवसायीहरुको उचित व्यवस्थापन र घरधनीलाई उचित मुआब्जा दिन माग गरिएको छ । संयुक्त व्यवसायी संघले बिहीबार हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय र डिभिजन सडक कार्यालयमा ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।
उनीहरुले विद्यमान चौंडाइलाई बढाएर विकल्प खोज्दै वास्तविक लागत लिनुपर्ने, सडकको पुननिर्माण अवधिभर व्यवसायीको बैंक तथा वित्तिय संस्थाको ऋणलाई शून्य अवधि मानेर व्यवसायीलाई पुनः कर्जा तथा तालिकीकरणको व्यवस्था गर्नुपर्ने, पुननिर्माण अवधिभर व्यवसाय तथा घरबहाल कर छुट दिनुपर्ने माग गरिएको छ । यस्तै पुननिर्माण अवधिभर राष्ट्र बैंकले जारी गरेको कर्जा सम्बन्धि मौलिक नीति कारोबारमा लचकता अपनाउन पहल गर्नुपर्ने र प्रभावित क्षेत्रको घर टहरा पुनः निर्माण पश्चात साविक व्यापार व्यवसाय गरिरहेकाहरुलाई विना झन्झट, विना धरौटी उपलब्ध हुने सुनिश्चित हुनुपर्ने माग गरिएको छ । व्यवसायीहरु सधैं विकासको पक्षमा रहेको उल्लेख गर्दै राखिएका जायज मागहरु पूरा नगरी विस्तारको नाममा घर टहरा भत्काउन सुरु गरिए विरोधमा उत्रिने चेतावनी दिइएको छ ।
ज्ञापनपत्र बुझ्दै हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले व्यवसायी र घरधनीको जायज माग पूरा गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । नगरसभाले नै सडक विस्तार कार्यलाई सहयोग एवम् सहजीकरण गर्ने निर्णय गरिसकेको जानकारी दिँदै मेयर लामाले समृद्ध र विकसित हेटौंडा बनाउने अभियानमा साथ दिन अनुरोध गरिन् । सडक विस्तारको विषय बर्षौंदेखि त्रासको विषय बन्दै आएको स्मरण गर्दै उनले अब सबैले सहयोग गर्नुपर्ने बेला आएको बताइन् । सर्वोच्च अदालतको आदेश पालना गर्नु सबैको दायित्व भएको उनको भनाई थियो ।
ज्ञापनपत्रमा मकवानपुर फर्निचर व्यवसायी संघका अध्यक्ष कृष्ण अर्याल, कपडा तथा तयारी पोशाक व्यवसायी संघका अध्यक्ष नेत्रप्रसाद खतिवडा, जुत्ताचप्पल व्यवसायी संघका अध्यक्ष रामहरि तिमल्सिना, मकवानपुर भाँडा व्यवसायी संघका महासचिव सञ्जयप्रसाद रौनियार, ग्रील तथा स्टिल व्यवसायी संघका अध्यक्ष केशव प्रसाईं, निर्माण व्यवसायी संघ अध्यक्ष बालकृष्ण बजगाईं र हेटौंडा ढुवानी एशोसिएसनका अध्यक्ष प्रदीप अर्यालले हस्ताक्षर गरेका छन् ।







