हेटौँडा, साहित्य संगम मकवानपुरका संस्थापक अध्यक्ष तथा मकवानपुरका प्रगतिशील साहित्यकार स्वर्गीय धर्मदत्त न्यौपानेलाई मरणोपरान्त श्यामप्रसाद शर्मा स्मृति सम्मान–२०८३ प्रदान गरिएको छ।
हेटौँडा उपमहानगरपालिका–४ द्वारा स्थापित तथा साहित्य संगम मकवानपुरद्वारा प्रदान गरिँदै आएको उक्त सम्मान आइतबार आयोजित समारोहमा न्यौपानेको परिवारलाई नगद २५ हजार रुपैयाँसहित समर्पण गरिएको हो। साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि पौडेलले न्यौपानेको परिवारलाई सम्मानपत्र तथा नगद राशिसहित सम्मान हस्तान्तरण गरेका हुन्। साहित्य संगम मकवानपुरले प्रदान गर्दै आएको यो सातौँ श्यामप्रसाद शर्मा स्मृति सम्मान हो।
हेटौँडास्थित भुटनदेवी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा सम्मान समर्पणसँगै साहित्य संगमका सदस्य तथा शुभेच्छुकहरूको पुनर्मिलन कार्यक्रमसमेत भएको थियो। कार्यक्रममा साहित्य संगम मकवानपुरका उपाध्यक्ष मनोज पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए। स्वर्गीय धर्मदत्त न्यौपाने मकवानपुरको साहित्यिक, सामाजिक तथा प्रगतिशील आन्दोलनमा सक्रिय व्यक्तित्वका रूपमा परिचित थिए। उहाँले साहित्यिक चेतना विस्तार र सामाजिक रूपान्तरणका क्षेत्रमा पुर्याउनुभएको योगदानको सम्मानस्वरूप मरणोपरान्त सम्मान समर्पण गरिएको संगमका अध्यक्ष बर्तौलाले जानकारी दिए । कार्यक्रममा आयोजकले न्यौपानेको जीवनी पनि प्रस्तुत गरेका थिए । स्वर्गीय धर्मदत्त न्यौपानेका विद्यार्थी राजाराम बर्तौलाले न्यौपानेका कविताहरूको कृति भुटनदेवी २०३१ को ब्याजले प्रकाशन गर्ने जानकारी दिए ।
कार्यक्रममा संविधानसभा सदस्य अनन्तप्रसाद पौडेल,तत्कालीन जिल्ला विकास समिति (जिविस) मकवानपुरका पूर्वसभापति रामेश्वर राना मगर, जिल्ला समन्वय समिति मकवानपुरका पूर्वप्रमुख रघुनाथ खुलाल, हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देल, हास्यव्यंग्यकार आरसी रिजाल, साहित्य संगमका सल्लाहकारहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो।






