हेटौंडा,मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जिल्लामा भयरहित, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन तयार रहेको बताएका छन् । नेपाल पत्रकार महासंघको फ्रि मिडिया नेटवर्कले आयोजना गरेको निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन सञ्चार माध्यमको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा उनले मकवानपुरमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार रहेको बताएका हुन् ।
निर्वाचन आचारसंहिता पालनाको लागि अनुरोध गर्दै उनले आचारसंहिता उल्लंघनका घटनामा कारबाही समेत भैरहेको जानकारी दिए । मतदाता शिक्षा भने कमजोर भएको पाइएको निरौलाले जानकारी दिए । निर्वाचनका लागि २ हजार ९१२ जना कर्मचारी खटाइने भभएको छ । स्थायी र अस्थायी मतदान केन्द्र गरी ३६४ केन्द्रमा उनीहरु खटिनेछन् । मकवानपुरमा १६७ मतदान स्थल र ३६४ मतदान केन्द्र रहेको छ । निर्वाचनको लागि ३६६ मतदान अधिकृत खटिने उनले बताए । निरौलाका अनुसार प्रत्येक मतदान स्थलमा ११ जना सुरक्षाकर्मी खटिनेछन् । मतदानमा खटिने कर्मचारीको लागि विभिन्न तालिम तथा अनुशिक्षणको कार्यक्रम भैरहेको जानकारी दिइएको छ ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले निर्वाचन शान्त र भयरहित वातावरणमा सम्पन्न गराउन सञ्चार माध्यमको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै सहज सूचना संकलन र सम्प्रेषणका लागि प्रशासनले आवश्यक सहजीकरण गर्ने बताए । कार्यक्रममा मकवानपुर प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) बामदेव गौतम, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का लगायतको आतिथ्यता थियो । छलफलका सहभागी सञ्चारकर्मीले निर्वाचन अधिकृतको कार्यालय मिडियामैत्री हुनुपर्ने, मिडियालाई सहज वातावरणमा सूचना संकलन र सम्प्रेषणको वातावरण बनाउनुपर्ने लगायतका सुझाव दिएका थिए ।